हेटौँडा | बागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा जारी तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटको उपाधि काठमाडौंले जितेको छ । शुक्रबार चितवनको गौतम बुद्ध क्रिकेट मैदानमा भएको फाइनल खेलमा घरेलु टोली चितवनलाई ७ विकेटले पराजित गर्दै काठमाडौंले उपाधि उचालेको हो । यसअघि पुरुष क्रिकेट र एथ्लेटिक्समा चितवन प्रथम भएको थियो भने तेक्वान्दोमा ललितपुर प्रथम भएको छ ।
महिला क्रिकेटको फाइनल खेलमा काठमाडौंले टस जितेर पहिले बलिङ रोजेको थियो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै ९९ रन बनाएको थियो । चितवनका लागि कप्तान हेलिशा गुरुङले अविजित ४७ रन जोडिन् भने लक्ष्मीमाया रुम्बा लामाले ३८ रन बनाइन् । काठमाडौंका अशमिना कर्माचार्य, क्रिश्मा गुरुङ र बसन्ती कुमारी साउदले समान एक–एक विकेट लिए ।
१०० रनको लक्ष्य पछ्याएको काठमाडौंले १७ ओभर ३ बलमा ३ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । काठमाडौंको जितका लागि कप्तान कन्चन श्रेष्ठले ४२ रन र उषा भण्डारीले १७ रनको योगदान गरिन् । चितवनका हेलिशा गुरुङ, निशा तामाङ र लक्ष्मीमाया रुम्बा लामाले समान एक–एक विकेट लिए । फाइनल खेलमा काठमाडौंकी कप्तान कन्चन श्रेष्ठ प्लेयर अफ द म्याच घोषित भइन् ।
उपाधि विजेता काठमाडौंले ७० हजार रुपैयाँ नगदसहित ट्रफी र मेडल प्राप्त गर्यो भने उपविजेता चितवनले ५६ हजार रुपैयाँ नगदसहित ट्रफी र मेडल प्राप्त गर्यो । उपाधि जित्न नसके पनि चितवनकी कप्तान हेलिशा गुरुङ प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भइन् । उनले ट्रफीसहित २० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरिन् । चितवनकै लक्ष्मीमाया रुम्बा लामा उत्कृष्ट ब्याटर र सन्ध्या थापा उत्कृष्ट बलर घोषित भए भने भक्तपुरकी शिल्भी नागा उदियमान खेलाडी बनिन् ।
प्रतियोगितामा ६ जिल्लाको सहभागिता थियो । समूह ‘ए’ मा काठमाडौं, ललितपुर र काभ्रेपलाञ्चोक तथा समूह ‘बी’ मा चितवन, भक्तपुर र मकवानपुर रहेका थिए । चितवन र काठमाडौं समूह विजेताका रूपमा फाइनलमा पुगेका थिए । फाइनल पुग्नुअघि चितवनले भक्तपुरलाई ६ विकेटले हराएको थियो भने काठमाडौंले ललितपुरलाई ६ विकेटले पराजित गरेको थियो ।
यसैगरी पुरुष क्रिकेटको उपाधि चितवनले जितेको छ । बिहीबार हेटौँडाको गौरीटार क्रिकेट मैदानमा भएको फाइनलमा ललितपुरलाई १० रनले पराजित गर्दै चितवनले उपाधि जितेको हो । पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा सबै विकेट गुमाएर ११९ रन बनाएको थियो । चितवनका लागि प्रतीक श्रेष्ठले ४६ रन र आदर्श दुलालले २१ रन बनाए । ललितपुरका कप्तान सूर्य तामाङले ५ विकेट र विवेक राना मगरले ३ विकेट लिए ।
१२० रनको लक्ष्य पछ्याएको ललितपुर १८ ओभर ३ बलमा १०९ रनमै अलआउट भयो । ललितपुरका लागि कप्तान सूर्य तामाङले २१ रन बनाए । चितवनका प्रतीक श्रेष्ठले २ विकेट लिए । टोली पराजित भए पनि ब्याट र बलबाट उत्कृष्ट प्रदर्शन गरेका ललितपुरका कप्तान सूर्य तामाङ फाइनल खेलको प्लेयर अफ द म्याच बने ।
पुरुष क्रिकेटमा चितवनका रोशन झा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बने । उनले २० हजार रुपैयाँ नगदसहित ट्रफी प्राप्त गरे । झा उत्कृष्ट ब्याटरसमेत बने भने ललितपुरका सूर्य तामाङ उत्कृष्ट बलर र चितवनका सुमित शर्मा उदियमान खेलाडी घोषित भए । प्रतियोगितामा ८ जिल्लाको सहभागिता थियो ।
एथ्लेटिक्सतर्फ पनि चितवनले प्रथम स्थान हासिल गरेको छ । चितवनले १५ स्वर्ण, १३ रजत र ३ कास्य पदक जितेको हो । चितवनले पुरुषतर्फ ९ स्वर्ण, ८ रजत र २ कास्य तथा महिलातर्फ ६ स्वर्ण, ५ रजत र १ कास्य पदक जितेको थियो । एथ्लेटिक्समा काठमाडौं ८ स्वर्ण, १ रजत र १ कास्य पदकसहित दोस्रो र भक्तपुर ५ स्वर्ण, ५ रजत र ३ कास्य पदकसहित तेस्रो भयो ।
एथ्लेटिक्समा हाइजम्प, लङ्गजम्प, ट्रिपलजम्प, सटपुट, ज्याभेलिन थ्रो, रिले दौडलगायतका विधामा प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा प्रदेशका १३ वटै जिल्लाका खेलाडीहरूको सहभागिता रहेको थियो ।
तेक्वान्दोमा ललितपुर ७ स्वर्ण, ३ रजत र ६ कास्य पदकसहित प्रथम भएको छ । काठमाडौं ४ स्वर्ण, ४ रजत र २ कास्य पदकसहित दोस्रो भयो भने काभ्रेपलाञ्चोक ३ स्वर्ण, १ रजत र २ कास्य पदकसहित तेस्रो स्थानमा रह्यो । पुरुषतर्फ ललितपुरका रोहित महर्जन र महिलातर्फ मकवानपुरकी स्मिती थिङ उत्कृष्ट फाइटर घोषित भए ।
बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव दीपक लामाले प्रतियोगिताले प्रदेशका खेलाडीहरूको क्षमता विकास, प्रतिस्पर्धात्मक अनुभव र नयाँ प्रतिभा पहिचानमा सहयोग पुर्याएको बताए । उनले प्रदेशस्तरीय प्रतियोगितामा खेलाडीहरूको उत्साहजनक सहभागिताले आगामी राष्ट्रिय प्रतियोगिताका लागि बागमती प्रदेशको तयारीलाई थप बलियो बनाएको बताए । “प्रतियोगिताले जिल्लास्तरबाट उदाएका खेलाडीलाई प्रदेशस्तरमा आफ्नो क्षमता देखाउने अवसर दिएको छ,” सदस्य सचिव लामाले भने, “यस्ता प्रतियोगिताले खेलाडी उत्पादन र खेलकुद क्षेत्रको संस्थागत विकासमा सहयोग पुर्याउँछ ।”



