बागमती प्रदेशमकवानपुरसाउनभित्रै मकवानपुरका भूमिहीनलाई लालपुर्जा वितरण सुरु हुन्छ : सांसद उप्रेती

साउनभित्रै मकवानपुरका भूमिहीनलाई लालपुर्जा वितरण सुरु हुन्छ : सांसद उप्रेती

हेटौँडा । मकवानपुर क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य प्रशान्त उप्रेतीले साउन महिनाभित्रै मकवानपुरका दलित तथा भूमिहीन सुकुम्बासीलाई पहिलो चरणमा लालपुर्जा वितरणको काम सुरु हुने बताएका छन्।

हेटौँडा–११ स्थित सिमलटारमा आइतबार आयोजित ‘जनतासँग प्रत्यक्ष संवाद’ कार्यक्रमलाई सम्बोधन गर्दै सांसद उप्रेतीले विभिन्न कारणले लालपुर्जा वितरणमा ढिलाइ भए पनि मकवानपुर सरकारको प्राथमिकतामै रहेको बताए।

“म आफैँ पनि मनहरीमा लालपुर्जा नभएको अव्यवस्थित बसोबासीमध्येकै एक हुँ। चुनावअघि जनतासामु गरेका प्रतिबद्धताबाट हामी एक इन्च पनि दायाँबायाँ भएका छैनौँ,” उनले भने, “यही साउन महिनाभित्रै जिल्लाका केही भूमिहीन सुकुम्बासीले पहिलो चरणमा लालपुर्जा प्राप्त गरेको खबर सुन्न पाउनुहुनेछ।”

उनले लामो समयदेखि बसोबास गर्दै आएका अव्यवस्थित बस्ती हटाउने सरकारको कुनै योजना नरहेको पनि स्पष्ट पारे। विपद्को उच्च जोखिममा रहेका केही स्थानमा सुरक्षाका कारण स्थानान्तरण आवश्यक हुन सक्ने भए पनि अन्य कारण देखाएर वर्षौँदेखि बसोबास गर्दै आएका नागरिकलाई हटाउने विषयमा आफ्नो सहमति नरहेको उनले बताए।

कार्यक्रममा स्थानीयवासीले लालपुर्जा, सडक, शिक्षा, नाला निर्माण, बाढी नियन्त्रण तथा अन्य पूर्वाधारसँग सम्बन्धित समस्या र सुझाव राखेका थिए। सांसद उप्रेतीले संसद्को शून्य र विशेष समयमा आफ्नो निर्वाचन क्षेत्रका समस्या, बफर जोन तथा भूमिहीन सुकुम्बासीका विषय निरन्तर उठाउँदै आएको जानकारी दिए।

कार्यक्रमका क्रममा सिमलटार टोल विकास संस्थाले सांसद उप्रेतीलाई ज्ञापनपत्रसमेत बुझाएको थियो। ज्ञापनपत्रमा सिमलटार बस्तीमा लामो समयदेखि बसोबास गर्दै आएका नागरिकलाई यथाशीघ्र जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराउन माग गरिएको छ।

संस्थाले भूमि समस्या समाधानसँग सम्बन्धित निकायबीच आवश्यक समन्वय गर्न, नाला तथा विद्यालय पूर्वाधार निर्माणसहित अन्य आधारभूत संरचनाका लागि संघीय बजेटको व्यवस्था गर्न आग्रह गरेको छ। राप्ती नदीमा तटबन्ध निर्माण तथा बाढी नियन्त्रणका कार्यक्रम अघि बढाउनसमेत माग गरिएको छ।

ज्ञापनपत्रमार्फत बस्ती हटाइने भन्ने अन्योल अन्त्य गरी स्थानीय नागरिकका लागि सुरक्षित र सम्मानजनक बसोबासको वातावरण सुनिश्चित गर्न आग्रह गरिएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी हेटौँडा–११ वडा समितिको आयोजनामा भएको कार्यक्रम वडा सभापति सन्दीप बिडारीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्रतिनिधिसभा सदस्य प्रशान्त उप्रेती प्रमुख अतिथि तथा राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरका सचिव बिशभ अधिकारी विशेष अतिथिका रूपमा सहभागी थिए।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, टोल विकास संस्थाका पदाधिकारी तथा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img