हेटौँडा । बागमती प्रदेश सरकारले भोटेकोशी–त्रिशूली बाढीबाट प्रभावित जिल्लामा उद्धार तथा राहतका काम सञ्चालन गर्न स्थानीय विपद् व्यवस्थापन कोषमा तत्काल तीन करोड रुपैयाँ उपलब्ध गराउने भएको छ।
मुख्यमन्त्री किरण थापामगरका अनुसार रसुवा र नुवाकोटका सम्बन्धित स्थानीय विपद् व्यवस्थापन कोषलाई दुई करोड तथा धादिङ र चितवनलाई ५०–५० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय भएको हो। बाढीमा मृत्यु भएका व्यक्तिका परिवारलाई काजकिरियाका लागि प्रतिमृतक तत्काल २५ हजार रुपैयाँ उपलब्ध गराइने उनले बताए।
प्रदेश सरकारले बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका व्यक्तिलाई घरसम्म पुर्याउने तथा सनाखत भएका शव सम्बन्धित ठेगानासम्म लैजान लाग्ने खर्चसमेत बेहोर्ने भएको छ। उक्त रकम प्रदेश विपद् व्यवस्थापन कोषबाट सम्बन्धित पालिकाको विपद् व्यवस्थापन कोषमा पठाइने आर्थिक मामिला तथा योजनामन्त्री सरल सहयात्री पौडेलले बताए।
उनले उद्धार गरिएका व्यक्ति र सनाखत भएका शव घर लैजान सम्बन्धित पालिकाका जनप्रतिनिधिसँग सम्पर्क गर्न आग्रह गरे। पालिकाले आवश्यक खर्च तथा व्यवस्थापनका लागि प्रदेश सरकारसँग समन्वय गर्न सक्ने उनको भनाइ छ।
बाढी प्रभावित क्षेत्रमा नेपाली सेना र नेपाल प्रहरीले हवाई उद्धार गरिरहेका छन्। घाइते तथा जोखिमपूर्ण स्थानमा फसेका व्यक्तिलाई उद्धारमा पहिलो प्राथमिकता दिइएको छ। उद्धारको पर्खाइमा रहेका व्यक्तिका लागि स्थानीय तहसँगको समन्वयमा हवाई सेवामार्फत खाद्यान्न र राहत सामग्री पठाइने मन्त्री पौडेलले बताए।
बाढीले पक्की तथा झोलुङ्गे गरी करिब ४० वटा पुल बगाएको प्रदेश सरकारको प्रारम्भिक विवरण छ। भौतिक पूर्वाधार विकासमन्त्री एवं सरकारका प्रवक्ता भरत केसीले तत्काल पक्की संरचना निर्माण गर्न नसकिने स्थानमा झोलुङ्गे पुल र तुइन निर्माण गरिने बताए। सडक विभाग र नेपाली सेनासँग समन्वय गरी आवश्यक स्थानमा बेलिब्रिज राख्ने प्रक्रिया पनि अघि बढाइएको उनले बताए।
त्रिशूली–धुन्चे तथा गल्छी–काठमाडौं सडक अवरुद्ध भएपछि वैकल्पिक सडक मर्मत गरी यातायात सञ्चालनको तयारी भइरहेको प्रदेश सरकारले जनाएको छ। मुख्य राजमार्ग सञ्चालन र प्रमुख उद्धारको काम सङ्घीय सरकारले गरिरहेको तथा सहायक सडक, विद्युत् र खानेपानी सेवा सञ्चालनका लागि प्रदेश सरकारले स्थानीय तहसँग समन्वय गरिरहेको छ।
गोसाइँकुण्ड क्षेत्रमा रहेका एक हजार ५०० भन्दा बढी तीर्थयात्रीलाई सुरक्षित रूपमा फर्काउन बससहित आवश्यक सवारीसाधनको व्यवस्था भइरहेको मुख्यमन्त्री थापामगरले बताए। प्रदेश मातहतका अस्पतालमा स्वास्थ्यकर्मी र उपलब्ध साधनस्रोत केन्द्रित गरिएको प्रदेश सरकारले जनाएको छ।




