हेटौँडा । रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि मकवानपुरवासीले दुई गाडी राहत सामग्री जुटाएका छन्। हेटौँडामा आइतबार दिनभर सञ्चालन गरिएको राहत संकलन अभियानमा करिब ३९० जनाले विभिन्न जिन्सी सामग्री सहयोग गरेका हुन्।
संकलित राहत सामग्री प्रतिनिधिसभा सदस्य प्रकाश गौतमसहितको टोलीले जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई हस्तान्तरण गरेको छ। सामग्री नुवाकोटस्थित नेपाली सेनाको क्याम्पमा पुर्याएर एकद्वार प्रणालीमार्फत प्रभावित नागरिकसम्म पुर्याइने गौतमले बताए।
दुई गाडीमा ४८१ कार्टुन पानी, १५६ कार्टुन चाउचाउ, १०४ बोरा चामल, ६५ बोरा र ३१ कार्टुन चिउरा तथा ६५ बोरा कपडा संकलन भएको छ। यसबाहेक तेल, बिस्कुट, दाल, दालमोठ, भुजा, जुत्ताचप्पल, साबुन, म्याट, ओढ्ने–ओछ्याउने सामग्री, सेनेटरी प्याड, मेडिकल सामग्री तथा बालबालिकाका कपडासमेत पठाइएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका सभापति सञ्जीव पाठकका अनुसार अभियानमा नगद संकलन गरिएको थिएन। नगद सहयोग गर्न चाहनेलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको क्यूआरमार्फत सिधै रकम जम्मा गर्न आग्रह गरिएको थियो। अभियानस्थलबाट २१ जनाले कोषमा ७१ हजार ९६० रुपैयाँ जम्मा गरेका छन्।
बाढी प्रभावित क्षेत्र पुगेर फर्किएका पाठकले अहिले खाद्यान्नसँगै खाना पकाउने भाँडाकुँडा र ग्यास, सुत्नका लागि म्याट तथा ओढ्ने–ओछ्याउने सामग्रीको आवश्यकता बढी देखिएको बताए। आगामी सहयोगमा यस्ता सामग्रीलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ।
पाठकसहितको टोली बाढी आएको भोलिपल्ट पनि करिब आठ लाख रुपैयाँ बराबरको राहत लिएर प्रभावित क्षेत्रमा पुगेको थियो। घरजग्गा गुमाएर अस्थायी आश्रयस्थलमा बसेका नागरिकलाई राहत वितरणसँगै खाना पकाएर खुवाउने व्यवस्था गरिएको उनले बताए।
अभियानलाई कुनै एउटा राजनीतिक दलमा सीमित नगरी मकवानपुरका नागरिक, विभिन्न समुदाय र संघसंस्थाको साझा राहत अभियानका रूपमा सञ्चालन गरिएको आयोजकले जनाएको छ।




