देशबागमती प्रदेशबाढीमा आमाबाबु गुमाएका बालबालिकालाई कक्षा १२ सम्म आवासीय शिक्षा

बाढीमा आमाबाबु गुमाएका बालबालिकालाई कक्षा १२ सम्म आवासीय शिक्षा

spot_img

हेटौँडा । बागमती प्रदेश सरकारले बाढीका कारण आमाबाबु गुमाएका बालबालिकालाई आवासीय सुविधासहित कक्षा १२ सम्म निःशुल्क विद्यालय शिक्षा दिने निर्णय गरेको छ ।

मुख्यमन्त्री किरण थापा मगरको अध्यक्षतामा बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले प्रभावित बालबालिकाको संरक्षण र शिक्षाको जिम्मेवारी प्रदेश सरकारले लिने निर्णय गरेको हो ।

प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री भरतबहादुर केसीका अनुसार रसुवा, नुवाकोट, धादिङ र चितवनलगायत बाढी प्रभावित जिल्लाका अभिभावकविहीन बालबालिका योजनामा समेटिनेछन् ।

प्रभावित बालबालिकाको यकिन संख्या भने प्रदेश सरकारसँग छैन । सम्बन्धित जिल्ला र स्थानीय तहबाट तथ्याङ्क प्राप्त भएपछि उनीहरूलाई आवासीय रूपमा राखेर निःशुल्क शिक्षाको व्यवस्था गरिने केसीले बताए ।

बैठकले प्रदेश विपद् व्यवस्थापन कोष परिचालनसम्बन्धी कार्यविधि पनि संशोधन गरेको छ । यसअघि प्रदेशले उपलब्ध गराउने राहत रकम जिल्ला विपद् व्यवस्थापन समितिमा पठाउने व्यवस्था थियो ।

संघीय कानुनअनुसार रकम खर्च गर्नुपर्ने प्रक्रियाले राहत परिचालनमा जटिलता देखिएपछि अब सम्बन्धित स्थानीय तहमा समेत रकम पठाउन सकिने व्यवस्था गरिएको केसीले जानकारी दिए ।

मन्त्रिपरिषद्ले उद्योग, पर्यटन तथा श्रम यातायात मन्त्रालयअन्तर्गत अस्थायी दरबन्दी स्वीकृत गरेको छ । करार तथा अस्थायी करारमा कार्यरत कर्मचारीको दरबन्दी हरेक वर्ष स्वीकृत गर्नुपर्ने नियमित प्रक्रियाअन्तर्गत यो निर्णय गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img