हेटाैँडा । बागमती प्रदेश सरकारले बाढीपहिरो प्रभावित क्षेत्रमा राहत र उद्धारपछि अब पुनर्निर्माणको कामलाई तीव्रता दिएको छ । विपद व्यवस्थापनमा जुट्दै बागमती सरकारले नुवाकोटको विदुर नगरपालिकामा आपतकालीन तथा आधारभुत स्वास्थ्य केन्द्रको शुभारम्भ गरेको छ ।
बिहिबार एक कार्यक्रमका बिच मुख्यमन्त्री किरण थापा मगरले विदुर नगरपालिकामा अवस्थित आयुर्वेदीक अस्पताल मार्फत स्वास्थ्य सेवा सुरु गरिएको हो । आयुर्वेदीक अस्पतालका केही कोठा व्यवस्थापन गरि आकस्मिक ४ शैयाको स्वास्थ्य सेवा सुरु गरिएको हो ।
रसुवा भोटेकोशी बाढिका कारण नुवाकोटको त्रीसुली नदीको पुल बगाए पछि बेलकोटगढी, विदुर नगरपालिका लगायतका स्थानीय तहको त्रीसुली अस्पतालसंग सम्पर्क टुटेको थियो । उक्त अवस्थाका कारण त्यस क्षेत्रका नागरिक उपचारका लागि काठमाडौं धाउन बाध्य रहेका थिए । विपद प्रभावित नागरिकको उपचारमा सहयोग पुर्याउन स्वास्थ्य तथा समाजिक विकास मन्त्रालय र डब्लुएचओको सहयोगमा आकस्मिक सहित, बहिरंग तथा प्रसुती सेवा दिने गरि केन्द्र संचालन गरिएको हो ।
केन्द्रको सुरुवात गर्दै मुख्यमन्त्री थापाले विपद प्रभावित नागरिकलाई मलम लगाउन प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए।
उनका अनुसार सामान्य उपचारका लागि काठमाडौँ धाउन नपर्ने त्रिशूली नदीमा पुल नहुँदा स्थानीयवासीलाई प्रादेशिक अस्पतालसम्म पुग्न कठिनाइ भइरहेको अवस्थामा डब्ल्युएचओको सहयोगमा अस्पताल तथा भिडियो परामर्श सेवा सुरु गरिएको छ ।
‘परिस्थिति जस्तोसुकै भए पनि त्यसलाई व्यवस्थापन गर्दै स्वास्थ्य सेवा सुरु गरेका छौँ। अब नुवाकोटवासीले आधारभूत स्वास्थ्योपचारका लागि काठमाडौँ जानुपर्ने बाध्यता हट्नेछ।’ उनले भने ।
अस्पतालमा आवश्यक पर्ने स्वास्थ्य उपकरण, औषधि र जनशक्तिको अभाव हुन नदिने भन्दै उनले अन्य प्रादेशिक अस्पतालबाट जनशक्ति खटाउने र आवश्यक परे तत्काल करारमा विज्ञापन गरेर भए पनि सेवा चुस्त बनाउन बजेट व्यवस्थापन गर्ने बताए।
मुख्यमन्त्री थापाले नुवाकोट र रसुवालाई जोड्न तथा आवतजावत सहज बनाउन तत्काल ५ वटा झोलुङ्गे पुल र २ वटा बेलीब्रिज जडान गरिने बताए । रसुवादेखि नुवाकोटसम्मका अति आवश्यक ५ स्थानमा तत्काल झोलुङ्गे पुल निर्माण गर्न संक्षिप्त सूचना (छोटो अवधिको टेन्डर) निकाल्न भौतिक पूर्वाधार मन्त्रालयलाई निर्देशन दिइसकिएको उनको भनाई छ।
बागमती प्रदेशसँग हाल उपलब्ध रहेका ५०/५० मिटरका दुईवटा बेलीब्रिज एक साताभित्र तयार हुने र स्थानीय तह तथा जनप्रतिनिधिहरूसँग समन्वय गरी प्राथमिकताका आधारमा दुई स्थानमा जडान गरिने उनले बताए। यसका साथै नेपाली सेनासँग समन्वय गरी पुरानो अर्को बेलीब्रिज पनि सञ्चालनमा ल्याउने तयारी गरिएको छ भने दीर्घकालीन रूपमा पक्की पुल निर्माणका लागिसमेत अध्ययन सुरु भइसकेको उनले बताए ।
उद्धार, उपचार र राहत वितरणपछि प्रदेश सरकार संघीय र स्थानीय सरकारसँग समन्वय गरेर पुनर्निर्माणतर्फ केन्द्रित भएको मुख्यमन्त्रीको भनाइ थियो। पुल नभएका ठाउँमा तत्काल वैकल्पिक सडक खोल्नका लागि पूर्वमुख्यमन्त्री तथा अन्य जनप्रतिनिधिहरूले दिएको सुझावलाई आधार मानेर काम अघि बढाइएको उनले बताए।




