मकवानपुर । साउदी अरबमा सुरक्षा खतरा बढ्दै गएपछि त्यहाँस्थित नेपाली राजदूतावासले नेपाली नागरिकहरूलाई उच्च सतर्कता अपनाउन र अनावश्यक रूपमा घरबाहिर ननिस्कन आग्रह गरेको छ। रियादमा रहेको नेपाली दूतावासले सूचना जारी गर्दै नेपालीहरूलाई सुरक्षा अवस्थाप्रति सचेत रहन र जोखिमयुक्त क्षेत्रमा विशेष सावधानी अपनाउन अपिल गरेको हो।
दूतावासले साउदी सुरक्षा निकाय तथा सम्बन्धित आधिकारिक निकायबाट जारी गरिएका निर्देशनको पूर्ण पालना गर्न भनेको छ। साथै, सामाजिक सञ्जालमा फैलिन सक्ने भ्रामक तथा अपुष्ट सूचना, तस्बिर र भिडियो पोस्ट वा सेयर नगर्नसमेत सचेत गराएको छ।
हवाई यात्रा गर्ने तयारीमा रहेका नेपालीलाई उडान तालिकामा कुनै परिवर्तन भए/नभएको सम्बन्धित वायुसेवा कम्पनी वा आधिकारिक स्रोतबाट यकिन गरेर मात्र यात्रामा निस्कन दूतावासले अनुरोध गरेको छ। आपत्कालीन अवस्था वा कुनै समस्या आइपरेमा रियादस्थित दूतावास तथा जेद्दामा रहेको नेपाली महावाणिज्य दूतावासमा सम्पर्क गर्न आग्रह गरिएको छ।
पछिल्लो समय यमनमा सक्रिय हुथी विद्रोही समूहले साउदी अरबका विमानस्थल, तेल तथा अन्य महत्त्वपूर्ण संरचनाहरूमा आक्रमण बढाउँदै लगेका छन्। साउदी अरबमा हाल करिब ४ लाख नेपाली श्रमिक कार्यरत रहेको अनुमान छ।


