काठमाडाैँ। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा चितवन राइनोजले विजयी सुरुआत गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा चितवनले विराटनगर किंग्सलाई ८ रनले पराजित गरेको हो।
चितवनले प्रस्तुत गरेको १५८ रनको लक्ष्य पछ्याएको विराटनगर १९ ओभर ३ बलमा १४९ रन बनाउँदै अलआउट भयो। एक समय ५ विकेटको क्षतिमा १३२ रनको मजबुत स्थितिमा रहेको विराटनगरले थप १७ रन जोड्दा बाँकी सबै विकेट गुमाउन पुगेको थियो। विराटनगरका लागि इमरान शेखले ३९, आन्द्रे रसेलले ३३ र लोकेश बमले २६ रन बनाए। चितवनका कमल ऐरीले ४ तथा रिजन ढकालले २ विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १५७ रन बनाएको थियो। चितवनका लागि डेभिड मलानले उत्कृष्ट ७० रनको योगदान दिएका थिए। विराटनगरका एन्जेलो म्याथ्युज, आन्द्रे रसेल र चरिथ असलङ्काले १/१ विकेट लिए।
प्रतियोगिताअन्तर्गत आजै हुने दोस्रो खेलमा पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुँदैछ।
आगामी मंसिर ५ गतेसम्म चल्ने तेस्रो संस्करणको एनपीएलमा कुल ८ टोली सहभागी छन्।


