धर्म/संस्कृतिहेटौँडाको राप्ती तटमा छठका श्रद्धालुको चहलपहल सुरु, २ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन

हेटौँडाको राप्ती तटमा छठका श्रद्धालुको चहलपहल सुरु, २ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन

हेटाैँडा । छठ पर्वको मुख्य दिन आज (आइतबार) साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिन मकवानपुरको हेटौँडास्थित राप्ती नदी किनारमा भक्तजन तथा दर्शनार्थीको उपस्थिति सुरु भएको छ। हेटौँडा उपमहानगरपालिका–१ स्थित राप्ती तटमा पूजाका लागि पण्डाल निर्माण, सजावट, सरसफाइ र पार्किङसहितको सम्पूर्ण व्यवस्थापकीय तयारी पूरा भएसँगै श्रद्धालुहरू घाटमा भेला हुन थालेका हुन्।

​यस वर्ष राप्ती तटमा १ हजार ५०० देखि २ हजारसम्म व्रतालु तथा ६० हजारसम्म भक्तजन र दर्शनार्थी सहभागी हुने अनुमान गरिएको छठ पूजा मूल समारोह समितिका कोषाध्यक्ष राजदेव बानियाँले जानकारी दिए। गत वर्ष ४० देखि ५० हजार भक्तजन सहभागी भएकोमा यस वर्ष सहभागिता अझ बढ्ने आयोजकको अपेक्षा छ।

​भक्तजनको बाक्लो उपस्थितिलाई ध्यानमा राख्दै पर्वलाई सुरक्षित र व्यवस्थित बनाउन २०० भन्दा बढी सुरक्षाकर्मी परिचालन गर्ने तयारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय, ट्राफिक प्रहरी र अन्य सुरक्षा निकायको समन्वयमा सवारी आवागमन र पार्किङको छुट्टै प्रबन्ध मिलाइएको आयोजकले जनाएको छ।

​छठ पूजा समितिका संयोजक रविरञ्जन गुप्ताका अनुसार हेटौँडामा विसं २०३७ सालमा दुई–तीन परिवारबाट छठ मनाउन सुरु गरिएको थियो। करिब ४६ वर्षको अवधिमा यो पर्व मधेसी समुदायमा मात्र सीमित नरही हेटौँडाका सबै समुदायको साझा धार्मिक तथा सांस्कृतिक उत्सवका रूपमा स्थापित भएको गुप्ताले बताए।

​छठ पूजा व्यवस्थापनका लागि हेटौँडा उपमहानगरपालिकाले ५ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ। त्यस्तै, बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले ७ लाख रुपैयाँ बराबरका ध्वनि उपकरण सहयोग गरेको आयोजकले जनाएको छ। आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएपछि भोलि (सोमबार) बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर यस वर्षको छठ पर्व समापन गरिनेछ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार