मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले करको दर बढाएर मात्र राजस्व वृद्धि नहुने स्पष्ट पार्नुभएको छ। राष्ट्रिय कर दिवस २०८३ को अवसरमा मंगलबार आन्तरिक राजस्व कार्यालय हेटौंडाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले उत्पादन, लगानी र आर्थिक गतिविधि विस्तार गरेर करको आधार फराकिलो बनाउनुपर्नेमा जोड दिनुभएको हो।
मुख्यमन्त्री थापा मगरले कर प्रणाली न्यायपूर्ण, पारदर्शी र नागरिकमैत्री हुनुपर्ने बताएका छन्। “हाम्रो लक्ष्य करको भार बढाउने होइन, उत्पादन र आर्थिक गतिविधि बढाएर कर तिर्न सक्ने नागरिक तथा व्यवसायको संख्या बढाउने हुनुपर्दछ,” उहाँले भन्नुभयो। इमानदारीपूर्वक कर तिर्ने नागरिकलाई प्रोत्साहन र कर छली गर्नेको प्रवृत्ति अन्त्य हुनुपर्ने उहाँको भनाइ थियो।
नागरिकले तिरेको करको सदुपयोग र सार्वजनिक खर्चको पारदर्शिता सरकारको प्रमुख जिम्मेवारी भएको उल्लेख गर्दै मुख्यमन्त्री थापा मगरले सरकारको सफलता खर्च भएको बजेटले भन्दा नागरिकको जीवनमा आएको परिवर्तनले मापन हुने बताएका छन्। उनले बाह्य ऋण र अनुदानमा अत्यधिक निर्भर रहँदा दीर्घकालीन आर्थिक जोखिम निम्तिने भन्दै आन्तरिक राजस्व परिचालनबाटै आर्थिक आत्मनिर्भरता हासिल गर्नुपर्ने धारणा राखे।
डिजिटल अर्थतन्त्रअनुसार कर प्रशासनलाई आधुनिक र प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिँदै उनले कर कार्यालयहरू नागरिकका लागि झन्झट होइन, सेवा र सहजीकरणको केन्द्र बन्नुपर्ने बताए। कार्यक्रममा कृषि, उद्योग, पर्यटन र सूचना प्रविधिलाई रोजगारीसँग जोड्दै प्रदेशको आर्थिक आधार बलियो बनाइने सरकारको प्रतिबद्धता व्यक्त गरिएको थियो।


