सोह्र बर्षको उमेरदेखि उनले डोको, डालो, नाङलो र मान्द्रो बुन्न शुरू गरे । बाबु बाजेको पुर्ख्यौली पेशा पक्ष्याउदै बडिगाड ९ रणसिंकिटेनीका थमन रेश्मीले ६५ बर्षको उमेरसम्म पनि आफ्नो पेशालाई निरन्तरता दिएका छन् ।
विवाह पछि श्रीमती दुरमतीले पनि उनलाई साथ दिईन् । अहिलेसम्म मगर दम्पती डालो बुनेरै घरपरिवार पालेका छन् । डालोसँगै अन्न सुकाउने मान्द्रो र नाङलो बुन्ने काममा उनीहरुले जीवन बिताए । निगालेकै सामान बनाएर उनीहरले ८ जनाको परिवार धानेका छन् । चाडपर्व, मेला महोत्सव उनीहरुको मुख्य बजार हो । गुल्मीको रिडीमा लाग्ने माघे संक्रान्तिको मेला, चैतेदशैँमा लाग्ने बागलुङे मेला सहितका महोत्सवहरुमा डोको डालो बोकेरै लैजाने उनको बानी अझै छुटेको छैन। यो उमेरमा पनि रेश्मीले चिसो, धुलो, झरी र बादल भन्दैनन् ।
उनले दशक अघिसम्म वार्षिक ५ सय नाङला, ५ सय डोको डाला र झण्डै २ सय मान्द्रा पनि बुन्थे । अहिले वर्षभरीमा २ सय बिक्री गर्न गाह्रो परेको गुनासो गर्छन् । दशकअघि यहाँका ४ सयको पुर्ख्यौली पेशाको रुपमा चिनिएको निगालोको सामाग्री बनाउने घटेर ५० जना बाँकी रहेका हुन् । मालिंगो, गजिङ जातका निगालो उच्च पहाडी क्षेत्रमा उत्पादन हुन्छ । सामान्य निगालोले भने राम्रा सामान बन्दैनन् । आख्ला कम हुने,सजिलै चोया निस्कने भएकोले उनीहरुले बढी प्रयोग गर्छन् ।
विवाह सहित जन्म र मृत्यु संस्कारमा कोसेली लैजान प्रयोग हुने सोली बनाउने उनको अर्को काम हो । उनले रणसिंकिटेनीकै हिराबहादुर सुनार, गंगाबहादुर विक र खनराम सुनारलाई पनि यो काम सिकाए । अहिले उनको सीप बाडिएर गाँउका ५० घरपरिवारमा फैलिएको छ । सबैघरले डोको, डालो र मान्द्रो बुनेर जिविका चलाउछन् । ‘खेतीपाती छैन, रोजगारीका लागि निगालोका सामान बनाएर कमाई गरेको छु’ रेश्मी भन्छन्, ‘युवाहरुले सीप सिक्ने ईच्छा गरेनन्, हाम्रो शेखपछि सीप लोप हुने खतरा छ ।’ खेतीपाती लाउने जमिन नभएकोले बाबु पुस्ताले सीपको काम गरेर जीवन बिताए ।
युवाहरु रोजगारी खोज्दै खाडी मुलुक हानिएका छन् । ‘विदेश नगई सीप धानेर बसे हुन्थ्यो भनेर सिकाउन पनि खोजें, युवाहरु मानेनन्’ रेश्मी भन्छन्, ‘प्लाष्टिकका भाडाले डालाको माग घटायो ।’ उनी भन्छन्, निगालो नपाए हाम्रो हातमुख जोडिदैंन । छोरा नातीले के गरेर खालान भन्ने, उनी चिन्ता गर्छन् ।
सीप भएकाले एक महिनामा कम्तिमा १० वटा मान्द्रो बुन्न सक्छन् । डोको भने एक दिनमा दुइवटा सम्म पनि भ्याउने गरेको चन्द्रबहादुर विकको अनुभव छ । बजारमा उनीहरुले मान्द्रोको आकार हेरेर सात सयदेखि दुइ हजार रुपैँया र डोकोलाइ ४ सयमा बिक्री गर्दै आएका छन् ।
सानो आकारका सजाउने डाली देखि घाँसदाउराका लागि चाहिने डोकोमा माग र मूल्य दुबै बढी पाँउछन् । ‘उमेरमा यस्तै सिकियो, यसैले हाम्रो परिवार पालेको छ’ मगरले भने, ‘छोराछोरीले सिक्न छाडेका छन्, कसरी पुस्ता धानिएला हामीलाई चिन्ता छ ।’ युवापुस्ता विदेश जाने खोजीमा शहर पसेकोले सिप हराउने उनले चिन्ता गरे । यो पेशा नगरेको भए वर्षौ अघिदेखी दलित बस्तीमा भोकमरी लाग्न सक्ने विकको तर्क छ । ‘उब्जाउने जमिन छैन, कमाउने अरु इलम छैन’ विकले भने,‘केही पढेका छोराछोरी बजार घुम्नमात्र खोज्छन्, जागिर पाएनन् भने उनीहरुलाइ भोकमरी लाग्छ ।’ राम्रा सामाग्री भएकोले बजारमा माग भएपछि बुढापाकाले बुनेकोले थेग्न नसकेको उनले बताए ।
बागलुङ उद्योग बाणिज्य संघले युवालाई तालिम दिएर सीप बचाउनु पर्ने भन्दै समूह बनाउन खोजेको पुर्व अध्यक्ष जयराम भारी बताउँछन् । ‘संघले गर्ने महोत्सवमा उनीहरुका सामाग्रीलाई बिक्रि गर्ने वातावरण मिलाएर प्रवर्द्धन गर्छौ’ भारीले भने, ‘युवालाई पनि सीप विकासका तालिम दिनुपर्छ ।’ अहिले पाकाहरुले बनाएका सामाग्री आफैं बोकेर बजार लैजानुपर्दा नियमित बुन्न नपाएको विकले गुनासो गरे । अधिकांसले वार्षिक डेढलाख रुपैँया सम्मको कमाई डोकाडालाबाटै गरेकोमा बजार घटेको गुनासो गर्छन् ।
बिक्रीको समस्या नहुने गरी बुन्न पाएमा वार्षिक ३ देखि ५ लाख सम्म कमाउन सकिने उनीहरुको अनुभव छ । ‘काम गरिरहने, बिक्रीको समस्या नभए आम्दानी बढाउन सकिन्थ्यो’ विकले भने,‘कमाई हुन्छ भन्ने बुझाएमा युवा पुस्ताले पनि सिक्ने थिए ।’ पहिला धेरै कमाई हुने सोली भने प्राय लोप भैसकेको उनले बताए । विवाह, व्रतबन्ध, जन्म र मृत्यु संस्कारमा कोसेली लैजान सोली प्रयोग हुन्थ्यो । कोसेली लैजाने चलन पनि लोप जस्तै भएको छ । ‘अहिलेका युवालाई सोली के हो भनेर चिनाउन पनि गाह्रो भैसक्यो’ मगरले भने, ‘डोको, डालोको प्रयोग पनि घटेको छ ।’ गाउँमा पुगेका प्लाष्टिकका भाडाले उनीहरूकाे सिपलाई ओझेल पारेको छ ।