कृषीमनाङमा यस सिजनको स्याउ टिप्न सुरु उत्पादनमा वृद्धि

मनाङमा यस सिजनको स्याउ टिप्न सुरु उत्पादनमा वृद्धि

स्याउ खेतीका लागि परिचित जिल्ला मनाङमा यस वर्ष स्याउ उत्पानमा १० प्रतिशतले वृद्धि हुने भएको छ । गत वर्षको तुलनामा यस वर्ष स्याउ उत्पादनमा १० प्रतिशतले वृद्धि हुने प्रधानमन्त्री कृषि आधुनिकीकरण कृषि परियोजना कार्यान्वयन एकाइ स्याउ जोन मनाङले जनाएको छ ।

स्याउमा आत्मनिर्भर बनाउने तयारीअनुरूप मनाङस्थित एग्रो मनाङ प्रालिले ७ सय ३५ रोपनी क्षेत्रफलमा आधुनिक प्रविधिमा उत्पादन सुरु गरेसँगै वृद्धि हुने भएको हो । मनाङका स्याउ कृषकले उच्च घनत्वमा स्याउ खेती गर्न थालेपछि गत वर्षको तुलनामा स्याउ उत्पादनमा वृद्धि हुने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (स्याउ जोन) एकाइ कार्यालय मनाङका कृषि अधिकृत राजेश्वर सिलवालले बताए । उनका अनुसार कृषकले परम्परागत स्याउखेतीलाई विस्थापित गर्दै आधुनिक स्याउखेतीतर्फ लागेपछि उत्पादन बढ्ने भएकोे हो ।

स्याउ जोन मनाङका अनुसार गत वर्ष मनाङमा ९ सय १६ मेट्रिकटन स्याउ उत्पादन भएको थियो । स्याउ जोन कार्यालयका प्रमुख सिलवालले तल्लो मनाङभन्दा माथिल्लो मनाङ क्षेत्रमा स्याउखेती उपयुक्त बन्दै गएको बताए । स्याउको माग उच्च रहेकाले मनाङका कृषक उत्साहित भएको उनको भनाइ छ । मलखाद, सिँचाइ, उपचार तथा व्यावस्थापनले साना बोटमा पनि धेरै फल लाग्ने भएकाले स्याउको उत्पादन बढ्ने उनले बताए ।

मनाङ ङिस्याङ गाउँपालिका–१, भ्राताङमा रहेको एग्रो मनाङले हाल ४ सय ५० रोपनी क्षेत्रफलमा स्याउ फलाएको छ । यस वर्ष कम्तीमा ४ सय मेट्रिकटन स्याउ उत्पादन हुने अनुमान गरिएको छ । गत वर्ष ३ सय ५० टनभन्दा बढी स्याउ उत्पादन भएको थियो । एग्रो मनाङ प्रलिका अध्यक्ष सोमराज गुरुङका अनुसार १ सयदेखि १६० रुपैयाँ प्रतिकिलो स्याउ बिक्री गर्ने तयारी छ । उनको फार्ममा गाला, गोल्डेन र फुजी प्रजातिका स्याउ लगाइएको छ । अहिले स्याउ टिप्ने सिजन सुरु भएसँगै उनको बगैँचामा गाला प्रजातिको स्याउ टिप्न थालिएको छ भने गाला टिपिसकेपछि गोल्डेन टिप्ने र त्यसपछि फुर्जी प्रजातिका स्याउ टिप्ने अध्यक्ष गुरुङले बताए । मनाङमा भदौको अन्तिम सातादेखि नै गाला प्रजातिको स्याउ टिप्न सुरु गरिएको हो ।

मनाङमा उत्पादित स्याउ लमजुङको बेँसीसहर हुँदै पोखरा, चितवन र काठमाडौंसम्म खपत हुने गरेको गुरुङले जानकारी दिए । समुद्री सतहदेखि २ हजार ९ सय मिटर उचाइको भ्राताङमा इटली र सर्वियाबाट स्याउ बोट ल्याएर हाइडेन्सिटी प्रविधिमार्फत स्याउ फलाएको ५ वर्ष भइसकेको छ । स्याउलाई स्टोर गर्न भ्राताङ, बेँसीसहर र काठमाडौंमा कोल्डस्टोरसमेत निर्माण गरिएको एग्रो मनाङका अध्यक्ष गुरुङले बताए ।

एग्रो मनाङले माथिल्लो मनाङको मनाङ ङिस्याङ गाउँपालिकाको सगोलमा रहेको जग्गा भाडामा लिएर ५ वर्षदेखि ७ सय ३५ रोपनी जग्गा २७ वर्षका लागि १२ करोड ९१ लाख ११ हजार भाडा तिर्ने गरी लिजमा लिएर आयोजनाले स्याउ खेती गरेको एग्रो मनाङका संस्थापक एवं प्रतिनिधिसभा सांसद पोल्देन छोपाङ गुरुङले बताए । उनले भने, ‘रासायनिक मल र विषादीको प्रयोग नगरिएको, स्वच्छ वातावरणमा उत्पादित मनाङको स्याउले बजार पाएको छ ।’

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img