सुनसरी / धरान १४ मा रहेको पिण्डेश्वर बाबाधाम मन्दिर दुई बर्ष पछिको कोरोना महामारीको कारण स्थगित भएको बोलबंम मेला यसपटक लागेको छ ।
ऐतिहासिक, पौराणिक, धार्मिक तीर्थस्थल धरान १४ मा रहेको पिण्डेश्वर बाबाधाममा हरेक साउन महिनामा लाग्ने बोलबंम मेला यसपटक पनि भव्यरुपले लाग्ने भएको छ । साउन १ गते पहिलो सोमबारको अघिल्लो दिन आइतबार प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारी र धरानका मेयर हर्क साम्पाङले बाबाधाममा जल अभिषेक गरेर बोलबंम मेलाको विधिबत उदघाटन गरेका छन् ।
अघिल्लो वर्ष कोरोना कहरका कारण मन्दिरको ढोका नखुलेपछि बाहिरैबाट चियाउँदै, ढोग्दै हिँडेका बोलबमको यसपटक भने भक्तजनहरूको भीड देखिएको हो । साउनको पहिलो सोमबार तिर्थालुहरू पिण्डेश्वर मन्दिरमा लामबद्ध भएर पूजा गरेको मूल पुजारी विनोद पोखरेलले बताए ।
दुई बर्ष रोकिएर यसपटक लाग्न लागेको बोलबंम मेला भव्यरुपले लाग्ने र साउन महिनामा ५ वटा सोमबार परेकोले ५ लाख भक्तजनले जल चढाउने अपेक्षा गरेको पिण्डेश्वर मन्दिर समितिका अध्यक्ष विकास बनेपालीले बताए ।
पिण्डेश्वर बाबाधाममा सप्तकोशी नदीबाट जल ल्याई खाली खुट्टा पैदल पिण्डेश्वर बाबाधाममा ल्याई चढाउनाले मनोकांक्ष पुरा हुने जनविश्वास बढदै गएपछि पछिल्लो समय धरानको पिण्डेश्वर बाबाधाममा साउनमा जल चढाउने भक्तजनकोहरुको घुईचो बढदै गईरहेको छ ।