कात्तिक २२ गते मङ्गलबार लाग्ने ग्रस्तोदित खग्रास चन्द्रग्रहण भरणी नक्षत्र र मेष राशिका व्यक्तिलाई अतिकष्टदायक रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
चन्द्रग्रहण मेष राशिलाई घात, वृष राशिलाई व्यय, मिथुन राशिलाई लाभ, कर्कट राशिलाई सुख, सिंह राशिलाई माननाश, कन्या राशिलाई कष्ट फल दिने योग रहेको समितिले प्रकाशन गरेको ‘राष्ट्रिय पञ्चाङ्गम्’ मा उल्लेख गरिएको छ । यसैगरी तुला राशिलाई स्त्रीपीडा, वृश्चिक राशिलाई सुख, धनु राशिलाई चिन्ता, मकर राशिलाई व्यथा, कुम्भ राशिलाई श्रीप्राप्ति र मीन राशिलाई क्षतिको फल मिल्ने पनि उल्लेख गरिएको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए ।
कात्तिक २२ गते बेलुकी ०५ः११ बजे चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर नै उदय हुने भएकाले ग्रस्तोदित चन्द्रग्रहण भनिएको हो । ग्रहणले पूरै चन्द्रमा ढाक्ने भएकाले खग्रास भनिएको हो । बेलुकी ०५ः१३ बजे सूर्यास्त भएपछि ग्रहण स्पष्टरूपमा देखिने छ । बेलुकी ०५ः२७ बजे ग्रहणको उन्मीलन हुने समितिले जनाएको छ । बेलुकी ०६ः३४ बजे ग्रहण सकिन्छ । एक घण्टा २३ मिनेट नेपालबाट ग्रहण देखिने छ । चन्द्रग्रहणको नौ घण्टाअघिदेखि सुतक लाग्ने धर्मशास्त्रका ग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताए ।
कात्तिक २२ गते मङ्गलबार बिहान ०८ः११ बजेदेखि बाल, वृद्ध र बिरामीबाहेकलाई भोजन निषेध गरिएको छ । बेलुकी ०६ः३४ बजे ग्रहण सकिएपछि मात्र भोजन गर्न हुने पनि उनले बताए । ग्रहणका बेला जप, स्नान, ध्यान, पाठलगायत कर्म गर्दा फलदायी हुने शास्त्रीय वचन छ । यसअघि कात्तिक ८ गते मङ्गलबार कार्तिक कृष्ण औँसीका दिन सूर्यग्रहण लागेको थियो । यसरी यो वर्षको कात्तिक महिनाका दुवै पक्षमा ग्रहण लाग्ने समितिले जनाएको छ । औँसीमा सूर्यग्रहण र पूर्णिमामा चन्द्रग्रहण लाग्छ ।
के हो त चन्द्र ग्रहण ?
यो एउटा चन्द्रमाको सामान्य बृत चक्र हो जहाँ सूर्य र चन्द्रको बिचमा पृथ्वी पर्न जान्छ । यस समयमा पृथ्वी, चन्द्र र सूर्यबिचको दूरी सबैभन्दा थोरै हुन्छ । यस क्रममा पृथ्वीको छाया चन्द्रमा देखिन्छ, चन्द्र नै प्रकाशको अभावमा र पृथ्वीको छायाले कालो देखिन्छ र यो नै चन्द्र ग्रहण हो ।
खग्रास र खण्डग्रास चन्द्र ग्रहण
ग्रहणको आसिक छाया भएमा खण्डग्रास र पूर्ण छाया भएमा खण्डग्रास चन्द्र ग्रहण भएको भनिन्छ ।
के ग्रहण नराम्रो हो ?
सामान्यतया ग्रहणलाई नराम्रो रूपमा व्याख्या गरिएको पाइएता पनि यो प्रकृतिको एउटा सामान्य प्रक्रिया हो तथापि केही हदसम्म मानवको संवेग, व्यवहार र सामाजिक अन्तरक्रिया पद्धतिहरूमा असर पर्न सक्ने सनातन ठहर छ । राष्ट्रिय सङ्कट, सामाजिक पृष्ठभूमि आदि इत्यादिसँग ग्रहणलाई जोडेर हेर्ने चलन भएता पनि चन्द्र ग्रहणको असर केवल व्यक्तिगत पक्षमा मात्र रहेको बताइन्छ ।
ग्रहण पश्चात् दानपूण्यका काम गर्ने, ग्रहण अवधिभर खानपिन नगर्ने, कीर्तन भजन गर्ने चलन सदियौँदेखि चलिआएको छ । ग्रहण पछि खोला या तीर्थस्थलमा स्नान गर्ने चलन पनि छ । यस चन्द्र ग्रहणले अशान्ति र असहिष्णु तत्त्वहरूको नाश गरोस्, नेपालमा अमन चैन फैलियोस् । पूर्व मेची देखि पश्चिम महाकाली अनि विदेशमा रहनुभएका सबै नेपाली हृदयहरूमा शान्तिको शीतलता चन्द्रले प्रदान गरुन् ।