Wednesday, February 12, 2025
धर्म/संस्कृतिश्रीस्वस्थानी व्रतकथाको आस्था र महत्व

श्रीस्वस्थानी व्रतकथाको आस्था र महत्व

पुषे पुर्णिमादेखि स्वस्थानी व्रत सुरु हुन्छ । माघे पुर्णिमाका दिन साङ्गेता गरेर व्रतालुले समापन गर्छन् । पूर्वकाठमाडौं साँखु भएर बग्ने सालीनदीको किनारमा महिनाभरि मेला लाग्छ । परपरबाट मेला भर्न आउने भक्तजन सालीनदीमा स्नान गरेर छेउमै रहेको स्वस्थानी देवीको मन्दिरमा स्वस्थानीको पुजा अर्चना गर्छन् । नेपालीले वर्षभरि मनाउने विभिन्न सांस्कृतिक महोत्सवहरुमा यो पनि एउटा ऐतिहासिक गरिमा बोकेको महोत्सव हो ।

नेपाल वहुभाषा संस्कृतिले सम्पन्न मुलुक हो । यहाँ विश्व प्रसिद्ध प्राचिन संस्कृति जनाउने सम्पदाहरु छन् । पशुपतिनाथ, जनकपुर धाम, लुम्विनी, मुक्तिनाथ, स्वर्गद्वारी बुढा सुब्बा जस्ता नेपाली सभ्यता र संस्कृतिका मुहानले परम्परागत संस्कार र संस्कृति पुस्तान्तरण गर्दै आएका छन् । यी स्थानहरुमा लाग्ने मेलाहरु नै नेपालका ऐतिहासिक महोत्सवहरु हुन् । यी महोत्सवहरुका आ–आफ्नै किंवदन्ती र विधिविधान छन् ।

पुसशुक्ल पूर्णिमाबाट सुरु भएर माघशुक्ल पूर्णिमामाका दिन समापन हुने स्वस्थानी व्रत श्रद्धालु नेपालीहरुको आदरणीय महोत्सव हो । यसमा व्रत बसेर स्वस्थानीको कथा सुन्ने । सुनाउने गरिन्छ । यसो गर्दा जीवनमा आइपर्ने अनिष्ट सबै हटेर जान्छन् । सुखशान्ति र धनधान्यपूर्ण भइन्छ भन्ने जनविश्वास रही आएको पाइन्छ । व्रत लिने भक्तले पूर्णिमाको अघिल्लो दिनदेखि नै आहार विहारमा चोखो निष्ठा गरी फलाहार गरेर बस्ने गर्छन् । पूर्णिमाको दिन विहानैदेखि नुहाउने÷धुने गरेर थरीथरी फूल जम्मा पार्छन् । दुबो र बेलपत्र पञ्चामृत, नै वेद्यहरु जुटाउने काम हुन्छ । मैसम अनुसार फलफूलको प्रसाद उत्तम मानिन्छ ।

कति भक्तजन पुरोहितबाट पूजाआजा गराई सुरु गर्छन् र दैनिक कथा वाचन आफै गर्छन् । कतिले नियमित वाचकबाट सुन्छन् । कतिले आफै थालनी र अन्त्य पनि गर्छन् । यो सरल विधिबाट महिना भरि कथा श्रवण गरेपछि अन्तिम दिनमा पूर्णपात्र सहित पूजाआजा गरी एक सय आठका दरले रोटीहरु, फलफूल, पान–सुपारीको प्रसाद वितरण गरी आफूले पनि ग्रहण गरेर मनाउने परम्परा रही आएको छ ।

स्वस्थानी व्रतको आफ्नै विशेष महत्व रहेको जनविश्वास पाइन्छ । समयमा उठ्ने नुहाइधोइ गरेर शुद्धासनमा बसेर भगवत प्राथना गर्दा शारीरिक, मानसिक तथा बौद्धिक स्वास्थ्य अनुकुलताका लागी उपयुक्त हुन्छ । पुर्खाले अर्जेका संस्कार संस्कृति जतन गर्ने अवसरका रुपमा पनि यसलाई लिन सकिन्छ । यसबाट नयाँ पुस्ताले सिक्ने अवसर पनि पाउँछन् ।

यसले तिर्थव्रतको महत्व र विशेषतालाई चिनाउँछ । यसर्थ यस्ता मेला महोत्सवहरुको उच्च महत्व रहन्छ । स्वस्थानीव्रतलाई अझ व्यवस्थित र व्यावहारीक बनाउनसके नेपाली मौलिक परम्पराको संवर्धन हुन सक्छ । यसले नयाँ पुस्तालाई पनि आपसी मेलमिलाप र सङ्घर्ष गरी जीवनलाई समृद्ध बनाउन सक्ने देखिन्छ । यसलाई नियम सङ्गत शैलीले अघि बढाउन सके आन्तरिक पर्यटन प्रवर्धनमा त टेवा पुग्छ नै साथै बास्यजगत सम्म हाम्रो संस्कृति पठाउने माध्यम पनि बन्न सक्ने देखिन्छ । यिनै कतिपय विशेषताले स्वस्थानीव्रत आफैमा महत्वपूर्ण छ । यसमा आराध्यदेव महादेव शिवको आराधना गर्ने चलन रहेको पाइन्छ ।

समग्रमा पर्व महोत्सव परम्परागत आस्थाका चिन्ह हुन् । यस्ता महोत्सवले जनतामा सहिष्णुताको भाव सम्पे्रषण गरुन् । यी सँग जोडिएका मूल्यमान्यताले मौलिक परिचय जोगाइ रहछन् । यसर्थ जनकल्याणकारी यस्ता व्रत तथा महोत्सवहरु अनुशासित ढङ्गले मनाउँदै जाने सहज वातावरण बनोस् भन्ने सदिच्छा सबैतिरबाट प्राप्त होस् । हाम्रो सांस्कृतिक सम्पदा जीवन्त रहोस् । ‘अस्तु’

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

सिफारिस