हेटौँडा | मकवानपुरगढी गाउँपालिका वडा नं. ५ सिमलटारमा श्रावण २५ गतेबाट श्रीमद्भागवत ज्ञान महायज्ञको आयोजना हुने भएको छ।
महायज्ञको तयारी करिब पूरा भएको महायज्ञ मूल आयोजक समितिका अध्यक्ष नेत्रप्रसाद घिमिरेले बताए। युवा पण्डित कपिलदेव भट्टको मुखारविन्दुबाट कथा वाचन हुने उनले जानकारी दिए।
जलेश्वर महादेव मन्दिरको पञ्चमुखि शिवलिङ्ग स्थापना तथा बुद्ध मूर्ति निर्माणका लागि यो महायज्ञ आयोजना गरिएको छ। हिन्दुधर्मालम्बी र बौद्धधर्मालम्बीको भगवानहरू महादेव र गौतम बुद्धको पूजाआजा गर्ने स्थान एकै क्षेत्रमा रहोस् भन्ने साझा उद्देश्यका साथ महायज्ञ आयोजना गरिएको अध्यक्ष घिमिरेले बताए।
महायज्ञको उद्घाटन २५ गते विहान ८ बजे कलश यात्रा गरेर १२ बजे हुने छ। यस महायज्ञ भदौ १ गते समापन हुनेछ। प्रतिनिधि सभा क्षेत्र १ का सदस्य महेश कुमार बर्तौलाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ।
देशव्यापी धार्मिक अनुष्ठान महाअभियान १००८ भागवत संकल्पका साथ यो महायज्ञ आयोजना गरिएको जनाइएको छ।



