इटहरी | आकाश इन्स्टिच्युटले आफ्नो संस्थामा अध्ययन पूरा गरी उच्च शिक्षा हासिल गरेका ४ सय भन्दा बढी विद्यार्थीहरूलाई बिदाई तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ। यस अवसरमा ४२ जना उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरी विशेष सम्मान गरिएको थियो।
कार्यक्रमका विशिष्ट अतिथि तथा प्राविधिक शिक्षा तथा तालिम परिषद् कोशी प्रदेशका निर्देशक संजय कुमार न्यौपानेले बेरोजगारी समाधानका लागि प्राविधिक शिक्षाको महत्त्व उल्लेख गर्दै, यस्तो शिक्षा लिएका विद्यार्थीहरूले ८० प्रतिशतसम्म रोजगारी पाउने तथ्य प्रस्तुत गरे।
आकाश इन्स्टिच्युटका कार्यकारी प्रमुख गोपाल निरौलाले २०८० सालमा एसईई दिएर बसेका र उच्च शिक्षा चाहने विद्यार्थीहरूलाई यो कार्यक्रममार्फत बिदाई तथा सम्मान गरिएको जानकारी दिए।
कार्यक्रमका प्रमुख अतिथि तथा शिक्षा विकास तथा समन्वय सुनसरी इकाई प्रमुख, उपसचिव खगेन्द्र प्रसाद सुवेदीले सक्षम हुन प्राविधिक शिक्षा हासिल गर्नुपर्ने र भविष्य निर्माणका लागि पढाइमा जोड दिनुपर्ने कुरामा जोड दिए।
आकाश इन्स्टिच्युटका संस्थापक अध्यक्ष कमल तिम्सिनाले यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूलाई शैक्षिक क्षेत्रमा उन्नति र प्रगति गर्न प्रोत्साहन मिल्ने बताए। उनले नेपाल तथा विदेशमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरूलाई संस्थाले निरन्तर शैक्षिक परामर्श प्रदान गर्दै आएको पनि उल्लेख गरे।
यो कार्यक्रमले प्राविधिक शिक्षाको महत्त्व र रोजगारीका अवसरहरूबारे जागरूकता बढाउनुका साथै विद्यार्थीहरूलाई उच्च शिक्षातर्फ अग्रसर हुन प्रोत्साहित गरेको छ।