एसइईको नतिजापनि आयो, पढेर वेरोजगार धेरै छन् । पढेर राम्रो पैसा कमाई हुने र सजिलै जागिर पाउने विषय कुन हो भनेर सोचिरहनु भएक छ ? कुन विषय अध्ययन गर्ने भन्ने अन्यौलमा पर्नु भएको छ ? वा प्राविधिक विषय अध्ययन गर्न चाहानु हुन्छ ? यदी हो भने अब प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् मार्फत आफूले प्राप्त गरेको ग्रेड अनुसार २९ वटा विषय अध्ययन गर्न सकिने छ ।
स्वास्थ्य, इञ्जिनियरिङ, कृषि तथा वनविज्ञान, आतिथ्य सत्कार र सामाजिक विषय अध्ययन गर्न पाइने छ । यी कार्यक्रमको अवधि १८ महिने र ३ वर्षे हुने प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सीटीईभीटी)का सूचना अधिकारी अनिलमुनी बज्राचार्यले जानकारी दिए । उनका अनुसार एसईईपछि अध्ययन गर्न सकिने प्राविधिक कोर्स विभिन्न अवधिको हुने छन् । माथिल्लो तहको अध्ययनमा अघि बढ्न सकिने र मध्यमस्तरको जनशक्तिको मान्यता पाउने तीन वर्षे डिप्लोमा पनि पढ्न सकिन्छ ।
प्राविधिक शिक्षा दुई र तीन महिने, १० महिने, १८ महिने पनि हुन्छ । अरू तालिमबाट सीप मात्र सिकिन्छ । यी छोटा अवधिका तालिमले माथिल्लो तहको स्नातक पढ्न भने पाइन्न । तीनवर्षे डिप्लोमा तह कोर्ष पढेपछि भने उच्च शिक्षा अध्ययनको अवसरपनि पाइन्छ ।
स्वास्थ्यसँग सम्बन्धित कुन कुन विषय पढ्न पाइन्छ ?
स्वास्थ्यसँग सम्बन्धित कार्यक्रममा १० वटा विषयको अध्ययन गर्न सकिने छ । जसमा प्रमाणपत्र तहको नर्सिङ, नेत्रविज्ञान, सामान्य चिकित्सा, मेडिकल ल्याब टेक्नोलोजी, डायाग्नोष्टिक रेडियोग्राफी, दन्तविज्ञान, सामान्य आयुर्वेद चिकित्सा, अक्कुपन्चर एण्ड अकुप्रेसर तथा डिप्लोमा इन फार्मेसी र डिप्लोमा इन फिजियोथेरापी पढ्न सकिन्छ । प्रमाणपत्र तथा डिप्लोमा तहका स्वास्थ्यतर्फका सम्पूर्ण कार्यक्रमका लागि अंग्रेजी, गणित र विज्ञानमा न्युनतम सी ग्रेड र जीपीए २ अंक प्राप्त गरेको हुनुपर्ने छ ।
इञ्जिनियरिङतर्फ के के छन् विषय ?
इञ्जिनियरिङ सम्बन्धित कार्यक्रममा १२ वटा विषयको अध्ययन गर्न सकिने छ । जसमा डिप्लोमा इन सिभिल इञ्जिनियरिङ, डिप्लोमा इन कम्प्युटर इञ्जिनियरिङ, डिप्लोमा इन इलेक्ट्रोनिक्स इञ्जिनियरिङ, डिप्लोमा इन इलेक्ट्रिकल इञ्जिनियरिङ, डिप्लोमा इन जियोम्याटिक्स इञ्जिनियरिङ, डिप्लोमा इन इलेक्ट्रोनिक्स एण्ड इलेक्ट्रिकल इञ्जिनियरिङ, डिप्लोमा इन मेकानिकल इञ्जिनियरिङ, डिप्लोमा इन अटोमोबाइल इञ्जिनियरिङ, डिप्लोमा इन इन्फर्मेसन टेक्नोलोजी, डिप्लोमा इन आर्किटेक्चर इञ्जिनियरिङ, डिप्लोमा इन बायोमेडिकल इक्विपमेट इञ्जिनियरिङ र डिप्लोमा इन रेफ्रिजरेसन एण्ड एअर कन्डीसनिङ रहेका छन् । डिप्लोमा इञ्जिनियरिङतर्फका सम्पूर्ण कार्यक्रमका लागि विज्ञान र गणितमा न्युनतम सि ग्रेड र अंग्रेजीमा न्युनतम डी प्लस ग्रेट हुनु पर्नेछ ।
कृषि तथा वनविज्ञानमा के के छ ?
कृषि तथा वनविज्ञानसँग सम्बन्धित कार्यक्रमा ४ वटा विषयको अध्ययन गर्न सकिने छ । जसमा डिप्लोमा इन एग्रिकल्चर (बालीविज्ञान), डिप्लोमा इन एग्रिकल्चर (पशुविज्ञान), डिप्लोमा इन फुड एण्ड डेरी टेक्नोलोजी र डिप्लोमा इन फरेष्ट्री छन् ।
डिप्लोमा तहका कृषि, फुस्डेरी टेक्नोलोजी र फरेष्ट्रिका लागि अंग्रेजी, गणित र विज्ञान मध्ये कुनै २ विषयमा न्युनतम सी र कुनै एक विषयमा न्युनतम डी प्लस ग्रेड आएकाले पढ्न पाउने छन् । हस्पिटालिटी डिप्लोमा होटल म्यानेजमेन्ट विषयको पनि अध्ययन गर्न सकिनेछ । जसका लागि अंग्रेजी, विज्ञान र गणितमा न्युनतम डी प्लस ग्रेड आएको हुनु पर्नेछ ।
सोसल वर्कतर्फ डिप्लोमा इन इन्टरप्रेनर्शिप डेभलेपमेन्ट र डिप्लोमा इन सोसियल वर्क्स विषय छन् । सो पढ्नका लागि विज्ञान र गणितमा न्युनतम डी प्लस ग्रेड आएको हुनु पर्नेछ । व्यवसायिक तालिम परिषद् (सीटीईभीटी)ले पनि आंगिक र सम्बन्धन प्राप्त कलेजमा भर्ना लिन आधार तय गरेको छ । तीनवर्षे डिप्लोमा तह अध्ययन गर्न कम्तीमा २ जीपीए ल्याउनु पर्ने हुन्छ ।
सिटिईभीटी मार्फत संचालित आंगिक शिक्षालय, साझेदारी शिक्षालय, सामुदायिक विद्यालय र नीजि स्तरबाट सञ्चालित शैक्षिक संस्थामा कक्षा संचालन हुने छन् । सबै गरेर ८७३ शैक्षिक संस्था सञ्चालनमा रहेका छन् । जसमा लामो तथा छोटो गरी लगभग ८० हजारको क्षमता भएको सूचना अधिकारी अनिलमुनी बज्राचार्यले जानकारी दिए ।
उनले भने-प्राविधिक विषय अध्ययन गर्न प्रवेश परीक्षामा नाम निकाल्नु पर्छ । प्राविधिक शिक्षा लिएपछि बेरोजगार बस्नु पर्दैन । सिटिभिटीले शुल्क निर्धारणका लागि समिति गठन गरेको प्रवक्ता बज्राचार्यले बताए ।