सुनसरी / जारी स्थानीय तहको निर्वाचनको मतगणनाको नतिजामा प्रदेश नम्बर १ धनकुटा र ओखलढुंगा जिल्लाबाट दाजुभाइले नै गाउँपालिकाको अध्यक्षमा विजयी भएका छन्।
दाजु जीतेन्द्र रुम्दाली(राई)ले धनकुटाको साँगुरीगढी गाउँपालिका र भाइ ज्ञानेन्द्र रुम्दालीले ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिकाबाट जित हाँसिल गरेका छन् । जीतेन्द्र र ज्ञानेन्द्र आफ्नै दाजुभाइ हुन् ।
ज्ञानेन्द्रले ५ हजार २१ मत ल्याउँदा एमालेका तामाङले ३ हजार ८ सय १५ मत प्राप्त गरेका हुन् । ज्ञानेन्द्रले कांग्रेसको सर्मथनमा स्वतन्त्र उम्मेदवारी दिएर अध्यक्षमा विजय हासिल गरेका छन् । उनले एमालेका रुपलाल तामाङलाई १ हजार २ सय ६ मतान्तरले जितेका छन् ।
गठबन्धनको तर्फबाट धनकुटाको साँगुरीगढी गाउँपालिकामा कांग्रेसको तर्फबाट उम्मेदवारी दिएका जीतेन्द्रले ५ हजार ३ सय ९९ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कुमारजंग याखाले ४ हजार ८ सय २८ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।



