काठमाडौँ | नेकपा एमाले उम्मेदवार केशव स्थापितले भने जस्तै काठमाडौंको ‘कोर एरिया’ पस्दै गर्दा तेब्बर मतले अग्रता बनाएका छन्।
काठमाडौं महानगरपालिका वडा नम्बर २७ स्थित महावौद्धसहितका क्षेत्रको मत गनिरहँदा स्थापितले लौरो चुनाव चिह्नका बालेन साहलाई तेब्बर मतले पछि छाडेका हुन्। रैथाने नेवार समुदायको बाक्लो बसोबास रहेको वडा नम्बर २७ मा ३ सय मत गन्दा स्थापितले १४६ मत ल्याएका छन् भने बालेनले तेब्बर कम अर्थात ४३ मत मात्रै पाएका छन्।
उता नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले बालेनलाई पछ्याउँदै ४१ मत ल्याउन सफल भएकी छन्। अर्कातिर आँखीझ्यालका सुमन साय्मीले ३१ भोट ल्याएका छन्।
समग्रमा हेर्नेहो भने काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले आफ्नो २४ हजार मत कटाउँदै निन्तर अग्रता कायम राखेका छन्। पछिल्लो मतपरिणामअनुसार बालेनले २४ हजार ३२४ मत प्राप्त गरेका छन्। अहिलेसम्म ६१ हजार ३१५ मतगणना भएको छ।
दोस्रो स्थानमा रहेका एमालेका मेयरका उम्मेदवार केशव स्थापितले १२ हजार ५७३ मत प्राप्त गरेका छन्। बालेन स्थापितभन्दा ११ हजार ७५१ मतले अघि छन्। गठबन्धनबाट उम्मेदवार बनेकी कांग्रेसकी सिर्जना सिंहले १२ हजार ९३ मत प्राप्त गरेकी छन्।