Thursday, December 5, 2024
मनोरञ्जन'अगस्त्य': पहिलो हाफमा निदाएका दर्शक दोस्रो हाफमा जागे!

‘अगस्त्य’: पहिलो हाफमा निदाएका दर्शक दोस्रो हाफमा जागे!

शुक्रवारदेखि देशभरका हलहरूमा फिल्म ‘अगस्ते’ प्रदर्शनमा आएको छ। सौरभ चौधरीद्वारा निर्देशित यो फिल्म ‘द अनब्रेकेबल अगस्त्य – च्याप्टर वान’ दर्शकहरूको ध्यानाकर्षण गर्न अन्त्यसम्म संघर्ष गरिरहन्छ। अपराध अनुसन्धानलाई मुख्य विषयवस्तु बनाएर निर्माण गरिएको यस फिल्ममा मानसिक सन्तुलन गुमाएका सौर्य (सौगात मल्ल) भारतको गोरखपुरका सडकमा भौतारिँदै हिँडेको दृश्यबाट सुरु हुन्छ। सिरिजको योजना बनाएका निर्देशकले केही विषयवस्तुलाई फिल्मको अन्त्यमा पनि रहस्यमयी ढंगले टुंग्याएका छन्।

फिल्मको टिजर र ट्रेलर हेरेर हलमा पुगेका दर्शकहरू अलमलमा पर्छन् र सोच्छन् – “के यो त्यही फिल्मको ट्रेलर हो?” पहिलो एक घण्टासम्म फिल्मले दर्शकलाई हलमा जमाउन हम्मे-हम्मे पर्छ किनकि यो करिब तीन घण्टा लामो रहेछ। फिल्मको पहिलो हाफमा कथावस्तु छरपस्ट र अस्पष्ट भएकाले दर्शकहरू निदाउन पनि सक्छन्, तर दोस्रो हाफले भने उनीहरूलाई पूर्णरूपमा जगाउँछ।

सेतो कपडा लगाएकी एक युवतीको सम्झनाले सौर्यलाई लगातार पछ्याइरहन्छ भने निसान (नाजिर हुसेन) नेपालतिर सौर्यकै खोजीमा लागेका हुन्छन्। निसान र सौर्यबीच घनिष्ट मित्रता रहेको छ। सौर्यको खोजीकै क्रममा उनीहरू दुईबीचको मित्रता र चाँदनी (मलिका महत) सँगको प्रेम कहानी पनि खुल्दै जान्छ। ‘द अनब्रेकेबल अगस्त्य – च्याप्टर वान’ ले यो कथा भन्न प्रयोग गरेको कथन शैली उत्कृष्ट छ। नेपाली समाजमा घटेका घटनाहरूलाई समेटेको भन्दै निर्देशकले अनलाइनमा समाचारका स्क्रिनसटहरू राख्न बाध्य भएका छन्। यसले फिल्मले भन्न खोजेको कुरा दर्शकहरूले बुझ्दैनन् कि भन्ने संदेश पनि दिन्छ।

निर्देशकले नेपाली चेली हराएको र भारतमा बेचिनु परेको विषयवस्तु उठाएका छन् साथै मित्रतामा आउन सक्ने दरारलाई पनि औँल्याउन खोजेका छन्। तर, अन्त्यमा आएको सस्पेन्सले दर्शकलाई झन् अन्योलमा पार्छ।

हालसालै प्रदर्शनमा आएका हास्य र सामाजिक विषयवस्तुका फिल्महरूबीच ‘अगस्ते’ ले फरक र मीठो स्वाद दिएको छ। तथापि, फिल्मको पटकथा अझै पनि पुख्त देखिँदैन। ‘अगस्ते’ भव्य क्यानभासमा निर्माण भएको फिल्म हो जसमा थुप्रै चरित्रहरू समावेश गरिएका छन्। तर, पहिलो हाफको अधिकांश समय चरित्र स्थापनामा नै बितेको छ। यसले गर्दा दर्शकहरू फिल्मको मुख्य कथासँग एक घण्टासम्म पनि परिचित हुन पाउँदैनन्। धेरैजसो चरित्रको स्थापना गर्न एक्सन दृश्यहरूको प्रयोग गरिए पनि कथा अगाडि नबढ्दा दर्शकहरू अलमलमा पर्ने ठाउँ स्पष्ट देखिन्छ।

अन्य नेपाली फिल्मको तुलनामा यस फिल्ममा कम संवादहरू छन्। तर, ती संवादहरू पनि प्राकृतिक कुराकानीजस्ता सुनिँदैनन् बरु मञ्चमा दिइएको भाषणजस्तो लाग्छ। फिल्मका धेरैजसो दृश्यहरूमा कलात्मक प्रकाश योजना र रंग संयोजनको प्रयोग गरिएको छ जसले ती दृश्यहरूलाई अर्को उचाइमा पुर्‍याइदिन्छ।

फिल्ममा एउटा महत्त्वपूर्ण दृश्य छ जहाँ यस तीन घण्टे फिल्मको रहस्य खुल्छ। तर, त्यही दृश्यमा अचानक सिंक साउन्ड आउँदा दर्शकहरूलाई त्यो रहस्य बुझ्न निकै गाह्रो हुन्छ। त्यसैगरी, फिल्ममा कलाकारहरूले गरेको मेहनत पर्दामा प्रष्ट देखिन्छ। साधारण ज्यानका नाजिर निसानको भूमिकामा अत्यन्त प्रभावशाली देखिन्छन्। उनको अनुहारमा नै निसान चरित्रको धूर्तता, चालाकी र इमानदारी झल्किन्छ। तर, बलियो पटकथाको अभावमा नाजिरको प्रयासले पनि उचित स्थान पाउन सकेन। त्यस्तै, मानसिक सन्तुलन गुमाएको मानिसदेखि प्रहरीसम्मको भूमिकामा सौगात मल्लको अभिनय पनि प्रभावकारी छ तर कमजोर पटकथाका कारण सतही देखियो।

सम्पादनका कुरा गर्दा, कथालाई थप प्रभावकारी बनाउन अनावश्यक दृश्यहरू हटाउन सकिन्थ्यो। सौर्यको चरित्र स्थापना गर्ने क्रममा सेतो पोशाकमा देखिने महिलाको दृश्य बारम्बार दोहोरिएको छ जुन कथालाई अगाडि बढाउनमा खासै महत्त्व राख्दैन। यस्ता थुप्रै दृश्यहरू फिल्ममा छन् जुन हटाइएको भए पनि कथालाई फरक पर्ने थिएन।

अन्त्यमा, ‘अगस्ते’ मनोरञ्जनका लागि नेपाली दर्शकहरूलाई एउटा नयाँ अनुभूति दिन सफल भएको छ। हुन त फिल्म निर्माणको सम्पूर्ण पाटो अपेक्षाकृत सशक्त भएको भए यसले अझ धेरै मन जित्न सक्ने थियो। फिल्मको विषयवस्तु र कथनले भने दर्शकलाई निकै प्रभावित पार्न सफल भएको छ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement
spot_img
spot_img

सिफारिस

spot_img
spot_img