काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ४४ औं प्रधानमन्त्री बनेका छन्। आइतबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल १६९ सांसदको समर्थनसहित मुलकको ४४ औं प्रधानमन्त्री बनेका हुन्।
सत्ता गठबन्धनमा कांग्रेस सभापति शेरबहादुर देउवासँग कुरा नमिलेपछि प्रचण्ड एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बार्ता गर्ने बालकोट पुगेका थिए। उक्त भेटमा ७ दलको बैठक बसेको थियो। त्यस बैठकले प्रधानमन्त्रीमा प्रचण्डलाई अघि सार्ने निर्णय गरेको हो।
२७५ सांसद रहेको प्रतिनिधि सभामा प्रचण्डलाई नेकपा एमालेको ७८, माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राष्ट्रिय प्रजातन्त्र पार्टीका १४, जनता समाजवादी पार्टीका १२, जनमत पार्टीका ६, नागरिक उन्मुक्ति पार्टीका ४ र अमरेशकुमार सिंह, प्रभु साह र किरण साहसहित १६९ सांसदले समर्थन गरेका छन्।
सात दलबीच भएको सहमति अनुसार एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आधा आधा कार्यकाल प्रधानमन्त्री हुने भएका छन्।
स्रोतका अनुसार राष्ट्रपति एमालेले लिनेछ। प्रधानमन्त्री र सभामुखमा आलोपालोको सहमति भएको छ। यो सहमतिअनुसार सुरुमा प्रचण्ड प्रधानमन्त्री हुने भएकाले एमालेले सभामुख पनि लिनेछ। जब एमालेले प्रधानमन्त्री लिनेछ, सभामुख पनि फेरिनेछ। माओवादीले सभामुख पाउने छ। साथै प्रदेशमा पनि मिलिजुलि सरकार बन्ने सहमति भएको बुझिएको छ।
प्रचण्ड संविधानको धारा ७६ को उपधारा २ अनुसार दुई वा दुईभन्दा धेरै दलहरुको समर्थनमा प्रधानमन्त्री बनेका हुन्। यससँगै तेस्रोपटक प्रधानमन्त्री बनेका दाहालले भोली पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने छन् । राष्ट्रपति कार्यालयले प्रधानमन्त्रीको शपथ भोली ४ बजे तय गरेको छ ।
गत चुनावमा कुनै एक दलको बहुमत नआएकाले राष्ट्रपति विद्यादेवी भण्डारीले आज बेलुकी ५ बजेसम्ममा सरकार गठनका लागि दाबी पेश गर्न दलहरुलाई आह्वान गरेकी थिइन् ।
जसअनुसार प्रचण्डले आफूलाई समर्थन गर्ने दलका नेताहरुसहित शितल निवास गएर सरकार बनाउन दावी पेश गरेका थिय ।