काठमाडाैँ । सातवटै प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्त भएका छन् । बुधबार मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा नयाँ मुख्यमन्त्रीको नियुक्ति भएसँगै सातवटै प्रदेशमा नयाँ सरकार गठन भएको हो ।
सत्ता गठबन्धनको भागबण्डाअनुसार चारवटा प्रदेशमा एमाले, दुईवटामा माओवादी र एउटा प्रदेशमा जसपाले मुख्यमन्त्री पाएको छ । माओवादी र एमालेसहितको सत्तारूढ गठबन्धनमा भएको सहमतिअनुसार प्रदेश १ मा एमालेका हिक्मत कार्की यसअघि नै मुख्यमन्त्री नियुक्त भइसकेका छन् । त्यहाँ माओवादीसँग आलोपालो हो कि पाँच वर्ष एकल सरकार एमालेको नेतृत्वमा हुने हो भन्ने सार्वजनिक भएको छैन ।
बागमती प्रदेश सरकारको नेतृत्व माओवादीका शालिकराम जमकट्टेलले पाएका छन् । त्यहाँ आधा कार्यकाल एमालेलाई दिने सहमति छ । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री एमालेका खगराज अधिकारी बने । त्यहाँ एमालेले पाँच वर्ष एकल नेतृत्व गर्ने भनिएको छ ।
मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) का संसदीय दलका नेता सरोज यादव नियुक्त भएका छन् । उनलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले संविधानको धारा १६८ को २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरे । मुख्यमन्त्री नियुक्त भएका यादव मधेश प्रदेशका निवर्तमान सभामुखसमेत हुन् ।
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेका लीला गिरी नियुक्त भए । प्रदेश प्रमुख अमिक शेरचनले गिरीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । सत्ता गठबन्धनसहित लोसपाका तीन र स्वतन्त्र दुई सांसद गरी गिरीलाई ५८ जनाको समर्थन छ ।
कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता राजकुमार शर्मा नियुक्त भएका छन् । शर्मालाई प्रदेश प्रमुख तिलक परियारले संविधानको धारा १६८ को २ बमोजिम बुधबार मुख्यमन्त्रीमा नियुक्त गरे । प्रदेश सरकारको नेतृत्व माओवादी र एमालेले साढे दुई/दुई वर्ष गर्ने सहमति भएको छ ।
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल नियुक्त भए । प्रदेश प्रमुख देवराज जोशीले बुधबार रावललाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । उनी समानुपातिकबाट प्रदेशसभा सदस्य निर्वाचित भएका थिए । सत्ता समीकरणको फेरबदलले कांग्रेस सबै प्रदेशमा प्रतिपक्षी दल भनेका छन् ।