Tuesday, March 18, 2025
कृषीझापाका किसान धान खेत मासेर केराखेतीतर्फ आकर्षित

झापाका किसान धान खेत मासेर केराखेतीतर्फ आकर्षित

झापा: झापा जिल्लामा केराखेतीतर्फ किसानको आकर्षण बढेको छ । केराखेतीबाट मनग्य आम्दानी हुने र धानबालीको तुलनामा खेती गर्न सजिलो हुनेहुँदा यसतर्फ किसानको आकर्षण बढेको हो । किसानले धान खेत मासेर केराखेती गरेका हुन् ।

जिल्लामा एक हजार आठ सय ९० हेक्टर जमिनमा केराको व्यावसायिक खेती हुने गरेको कृषि ज्ञानकेन्द्र झापाका प्रमुख सागर विष्टले बताए । केराको फलसँग बोट र पात मलका लागि बहुउपयोगी हुने उनको भनाइ छ । उनले विगत तीन वर्षयता जिल्लामा केराको व्यावसायिक खेती बढेको बताए ।

उनका अनुसार जिल्लाका गौरादह, भद्रपुर नगरपालिका, झापा, कचकवल, बाह्रदशी र कमल गाउँपालिकामा केराको व्यावसायिक खेती रहेको छ । यहाँ वार्षिक ३७ हजार मेट्रिकटन केरा उत्पादन हुने गरेको उनले बताए । प्रमुख विष्टले जिल्लामा गौरीगञ्ज गाउँपालिका र अर्जुनधारा नगरपालिकामा टिस्युकल्चर प्रविधिबाट केराको उन्नत जातको बिरुवा उमार्ने नर्सरी रहेको जानकारी दिए ।

दश कट्ठा जमिनदेखि ५७ बिघा क्षेत्रफलमा किसानले केराको व्यावसायिक खेती गर्दै आएका छन् । अधिकांश केराखेतीमा लागेका किसान वैदेशिक रोजगारीबाट फर्केका छन् । उनीहरुले परदेशमा रोजगारी गर्न जानुभन्दा स्वदेशमै परिवारसँग बसेर व्यवसाय गर्ने सोच बोकेर युवा केराखेतीमा लागेका छन् ।

झापा गाउँपालिकाका–३ का चन्द्रप्रसाद बस्नेतले केरा खेतीसँगै यसको थामलाई प्रशोधन गरेर कपडा, धागो, महिनावारी प्याड र फाइबर उत्पादन गर्ने तयारी गरिरहेका छन । विगत पाँच वर्षअघि इजरायलबाट फर्केर उनले ३० बिघा जमिनमा केराको व्यावसायिक खेती गर्दैै आएका छन ।

उनले युवालाई प्रोत्साहन गरेर यसको व्यावसायिक खेती गर्न प्रेरित गर्दै उनीहरुले उत्पादन गरेको केराको बजारीकरणमा सहजीकरण गरिदिने र प्राविधिक सहयोग गर्दै आएका छन । हाल पालिकामा १५ बढी किसानले व्यावसायिक केराखेती गरिरहेका छन । स्थानीय २० जना युवायुवतीलाई रोजगार दिनुभएको बस्नेतले वार्षिक रु एक करोडको केरा बिक्री गर्ने गरेको बताए ।

उनले झापा गाउँपालिकाले केराखेतीलाई आर्थिक करिडोरका रुपमा विकास गर्ने हो भने यसको प्रवद्र्धन, स्थानीय क्षेत्रमा रोजगारीको अवसर सिर्जना हुनुका साथै स्थानीय बासिन्दाको जीवनस्तरमा सुधार आउने धारणा व्यक्त गरे ।

यसैगरी श्रीगणपति एग्रिकल्चर प्रालिले भद्रपुर र गौरादह नगरपालिकामा जग्गा भाडामा लिएर व्यावसायिक केराखेती गर्दै आएको छ । उन्नत जातको केराको बोट नौ महिनामा पसाउन थाल्ने र एक वर्षभित्रैमै आम्दानी दिने गरेको प्रालिका अध्यक्ष वासु उप्रेतीले बताए । उनले भद्रपुर–५ मा २० बिघा र गौरादह–५ मा ५७ बिघा गरी ६७ बिघा जग्गा भाडामा लिएर केराको व्यावसायिक खेती गत वर्षदेखि सुरु गरेको बताए ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन

गाजर बेचेरै मासिक लाखौँ आम्दानी

spot_img