मकवानपुर – बिहीबार एकैदिन मकवानपुरमा चार जोडीबीच हुन लागेको बालविवाह रोकिएको छ। बाल हेल्पलाइन मकवानपुरका अनुसार कैलाश गाउँपालिका-३ का २१ वर्षीय युवक र राक्सिराङ गाउँपालिका-३ की १४ वर्षीया बालिकाबीच हुन लागेको बालविवाह रोकिएको हो। यस्तै, मनहरी गाउँपालिका-४ की १५ वर्षीया बालिका र हेटौंडा-३ बस्ने १८ वर्षीय युवकबीच हुन लागेको बालविवाह पनि रोकिएको छ।
मकवानपुरगढी गाउँपालिका-२ की १८ वर्षीया र हेटौंडा-१७ का २५ वर्षीय युवकबीच हुन लागेको अर्को बालविवाह पनि रोकिएको बाल हेल्पलाइनले जनाएको छ। बालविवाह हुन लागेको सूचनाका आधारमा अनुगमन गर्दा यी बालविवाह रोक्न सफल भएको हो।
१३, १४, १५ र १८ वर्षीय बालबालिकालाई बाल हेल्पलाइन मकवानपुरको संरक्षणमा राखिएको छ। बालबालिकाले २० वर्ष पूरा नभएसम्म विवाह नगर्ने प्रतिवद्धता जनाएका छन्। अभिभावकले पनि यस्ता घटना नदोहोरिने गरी बालबालिकाको निगरानी गर्ने बचन दिएका छन्।
जनप्रतिनिधि, अभिभावक, बालबालिका र बाल हेल्पलाइन मकवानपुर, हिमराइट्स मकवानपुर तथा प्रहरीको संयुक्त प्रयासमा यी बालविवाह रोकिएको हो। बालविवाह अझै पनि कैलाश र राक्सिराङमा बढी हुने गरेको बाल हेल्पलाइनले जनाएको छ।