मकवानपुर – हेटौँडास्थित १ सय ६ वर्ष पुरानो ऐतिहासिक चुरियामाई सुरुङमार्गको मर्मत सम्पन्न भएको छ। वाग्मती प्रदेश सरकारको लगानीमा सुरु भएको मर्मत कार्य लगभग दुई वर्षपछि सकिएको हो।
सन् १९७४ मा निर्माण भएको उक्त सुरुङ लामो समयदेखि प्रयोगविहीन अवस्थामा थियो। २०७८ साल साउनमा मर्मतको काम सुरु गरिएको थियो। तर, मर्मतका क्रममा अनुमानभन्दा बढी सुरुङ भासिएको पाइएपछि काम ढिलाइ भयो।
प्रारम्भिक अनुमान अनुसार १९८ मिटर सुरुङ मर्मत गर्नुपर्नेमा वास्तवमा २२५ मिटर सुरुङ मर्मत गरिएको छ। यसैले मर्मत लागत पनि वृद्धि भई तीन करोड ८४ लाख पुगेको छ। ऐतिहासिकताका कारण चुरियामाई सुरुङलाई संरक्षण गर्नुपर्नेमा जोड दिइएको छ। अब यसलाई पर्यटकीयस्थलका रूपमा विकास गर्ने तयारी गरिएको वाग्मती प्रदेश सरकारले जनाएको छ।
चुरियामाई सुरुङ नेपालकै पहिलो मानवनिर्मित सुरुङ हो। राणा शासनकालमा निर्माण गरिएको यस सुरुङले त्यसबेलाको इञ्जिनियरिङ्ग कलाको झलक दिन्छ। यसको संरक्षण र पर्यटन प्रवर्द्धनले ऐतिहासिक तथा सांस्कृतिक महत्व कायम राख्न सहयोग पुग्नेछ।