हेटौँडा | हरियाली र प्राकृतिक सौन्दर्यले भरिएको शहर हेटौँडा आज प्रदूषणको बाक्लो पर्दाले ढाकिएको छ। कहिल्यै मोहक देखिने हेटौँडा अहिले मनकामना डाँडाबाट हेर्दा धुलोको मुस्लोभित्र हराएको सहरजस्तो देखिन थालेको छ। बिहानको घामको हल्का झल्को वा रातको झिलिमिली बत्तीहरूले चम्काउने दृश्य अब धमिलो र अस्वस्थ देखिन्छ।
शहरमा बढ्दो धूलो, धुँवा र सूक्ष्म कणहरूले वातावरणलाई धमिलो बनाएका छन्। विशेषगरी गर्मी सुरु भएसँगै हेटौँडाको आकाश धूलो–धुँवाले भरिन थालेको छ। विगतमा खुलेर देखिने पहाडहरू अहिले मुस्लिएका छन्। वायू प्रदूषणका कारण नागरिकमा आँखा पोल्ने, सास फेर्न गाह्रो हुने, घाँटी सुख्खा हुनेजस्ता समस्या बढेका छन्। वातावरणविद्हरू भन्छन्— डढेलो, औद्योगिक धुँवा, सवारी चाप, र अनियन्त्रित निर्माण कार्यहरूले प्रदूषण निम्त्याएका हुन्।
एक समय हरियालीको पर्याय मानिने हेटौँडा अब अस्वस्थ वायूले ढाकिएको सहर बन्न थालेको छ। नेपालभर प्रदूषणले सताइरहेको बेलामा हेटौँडाको अवस्था पनि चिन्ताजनक छ।
काठमाडौं विश्वकै दोस्रो प्रदूषित सहर
अन्तर्राष्ट्रिय वायु गुणस्तर मापन संस्था आईक्यु एयर का अनुसार, हाल काठमाडौं विश्वकै दोस्रो प्रदूषित सहरका रूपमा सूचीमा छ। शुक्रबार राजधानीको वायू गुणस्तर सूचकांक २५० पुगेको छ, जुन ‘अत्यन्त अस्वस्थ’ मानिन्छ। हेटौँडाको पनि आजको आईक्यु १६० रहेको देखिएको छ। हेटौँडाको वायूमा PM 2.5 को मात्रा ६८.५ माइक्रोग्राम र काठमाडौंमा १७५.३ माइक्रोग्राम प्रति घनमिटर पुगेको छ।
त्यसैगरी, पछिल्लो अपडेटअनुसार नेपालकै सर्वाधिक प्रदूषित सहरहरूमा भक्तपुर, काठमाडौं र पाटन छन्। जसको क्रमसः ३००, २५० र २२४ आईक्यु रहेको एयर क्वालिटी इन्डेक्सले देखाएको छ।
सतर्कता अपनाउनुस्
प्रदूषण बढेसँगै विभिन्न सरकारी निकायदेखि वातावरणविज्ञ तथा चिकित्सकले विषेश चासो दिँदै सतर्कता अपनाउन र अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन अनुरोध गरेका छन्। बिहीबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विज्ञप्ति नै जारी गर्दै उपत्यकामा वायु प्रदूषण बढेसँगै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। सरकारबाट स्वीकृत वायु गुणस्तर सूचकाङ्कानुसार ०-५० हुँदा राम्रो, ५१-१०० हुँदा मध्यम, १०१-१५० हुँदा संवेदनशील समूहका लागि अस्वस्थ, १५१-२०० अस्वस्थ, २०१-३०० निकै अस्वस्थ तथा ३०१ भन्दामाथि भएमा खतरनाक तह पुगेको सङ्केत गर्छ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले वायु प्रदूषणका कारण दम, फोक्सोका रोग, आँखाको समस्या, नाक र घाँटीमा एलर्जी, छालामा समस्या, हृदयरोग तथा दीर्घकालीन स्वास्थ्य समस्या देखिन सक्ने भएकाले संवेदनशील समूहहरू बालबालिका, वृद्धवृद्धा, गर्भवती तथा दीर्घरोगीलाई विशेष सतर्कता अपनाउन सुझाव दिएका छन्। विपद् व्यवस्थापन तथा जलवायुविद् डा. धर्मराज उप्रेतीले पश्चिमी वायु कमजोर हुँदा बर्षा हुन नसकेको र हावासमेत चल्न नसक्दा प्रदूषण जहाँको तहीँ थुप्रिएर पनि वायु प्रदूषण बढिरहेको बताए।
विभागले नेपालमा विशेषगरी मङ्सिरदेखि जेठसम्म वायु प्रदूषण उच्च हुने गरेको भन्दै यस समयमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। वायु प्रदूषणको मुख्य कारण उद्योग, कलकारखाना र सवारीसाधनबाट निस्कने धुँवा, निर्माणकार्य, खुला रूपमा फोहर तथा कुहिने अवशेष जलाउनु, घरबाट निस्कने धुँवा, सडक तथा निर्माणकार्यबाट उड्ने धुलो आदि रहेको विभागले जनाएको छ। विभागले वायु प्रदूषणको समयमा मानव स्वास्थ्यमा नकारात्मक असर पार्ने हुँदा बालबालिका, वृद्धवृद्धा, दमका बिरामी, गर्भवतीलाई बढी प्रभाव पर्ने भएकाले सावधानी अपनाउन अनुरोध गरेको छ।
डढेलोविद् सुन्दर शर्माले यस वर्ष पनि हिउँदमा कम पानी पर्नु तथा प्रिमनसुन सुरु भएपछि पनि वर्षा हुन नसक्दा डढेलोको घटना बढेको र यसले वातावरणीय प्रदूषण बढाइरहेको बताए। मुलुकभर डढेलोको जोखिम रहे पनि विशेषगरी पर्सा, मकवानपुर, चितवन, बारा, उदयपुरलगायत ४५ जिल्लामा डढेलो बढी लागेको देखिन्छ। हामीसँग डढेलो नियन्त्रणका लागि पर्याप्त साधन नहुनु, युवाहरू नुहँदा आगो नियन्त्रण गर्ने जनशक्तिको अभावले अझै चुनौती छ। डढेलो नियन्त्रण नभएसम्म प्रदूषण पनि नियन्त्रण हुँदैन।
स्वास्थ्यमा गहिरो असर
मुटुरोगीलाई बढी असर पर्ने भएकाले सतर्कता अपनाउनुपर्ने मुटुरोगी विशेषज्ञ डा. रञ्जित शर्माको भनाइ छ। मुटुरोगीलाई प्रदूषणको समयमा श्वासप्रश्वासमा बढी समस्या हुने, हृदयघात हुनसक्ने, अनियन्त्रित रक्तचाप हुने, मधुमेह, उच्च कोलस्ट्रोल, दीर्घरोगी, दमका रोगीले अझै सतर्कता अपनाउनुपर्छ। प्रदूषणले जुनसुकै बेलामा पनि असर गर्ने भएकोले बिहानको समयमा प्रदूषण बढी हुने भएकाले विशेषगरी मुटुरोग भएकाहरू घरबाहिर निस्कँदा ख्याल गर्नुपर्छ, आवश्यक पर्दा मात्र निस्किनुपर्छ। माक्सको प्रयोग गर्नुपर्छ।
प्रदूषणले आँखा समस्या निम्त्याउन सक्ने हुँदा तिलगङ्गा आँखा प्रतिष्ठानका आँखारोग विशेषज्ञ डा. मुना कुँवरले सतर्कता अपनाउन आग्रह गरेकी छन्। प्रदूषित वायुमा हुने ब्याक्टेरिया वा भाइरसले आँखामा सङ्क्रमण गर्न सक्ने र जसले कन्जक्टिभाइटिस जस्ता समस्या निम्त्याउन सक्ने बताइन्। आँखा चिलाउने वा सुक्खा हुनेहुँदा दृष्टि धमिलो देखिने समस्या देखिएको छ। प्रदूषण प्रभावित क्षेत्रमा कम समय बिताउने, सकेसम्म घर बाहिर ननिस्कने, आँखा सुक्खा भएमा औषधि प्रयोग गर्ने, पोषणयुक्त खाना खाने र यदि समस्या बढ्दै गएमा चिकित्सकसँग परामर्श लिनुपर्छ।