हेटौँडा | चितवनबाट मकवानपुरको हेटौँडातर्फ आउँदै गरेको एउटा ट्रकलाई प्रहरीले बसामाडीमा रोकेपछि घटनाक्रम सुरु हुन्छ । बिहीबारको बिहान हेटौँडा प्रवेश गर्दै गरेको बा.प्र.०३–००१ख ३४११ नम्बरको गोरुसहितको ट्रक प्रहरीले नियन्त्रणमा लिएको थियो।
“ट्रकमा गोरुहरू कसिएर राखिएका थिए त्यही भएर होला एक दुईटा बिरामी जस्तो पनि देखिन्थ्यो ,” एक प्रत्यक्षदर्शीले बताए। ट्रकमा पशुसेवा कार्यालयको कुनै प्रमाणपत्र थिएन, जुन नेपालमा चौपाया ढुवानी गर्दा कानुनी रूपमा अनिवार्य छ। पशु स्वास्थ्य तथा पशु सेवा ऐन २०५५ को धारा १८ अनुसार, कुनै पनि जनावरलाई एक स्थानबाट अर्को स्थानमा लैजाँदा पशु चिकित्सकको प्रमाणीकरण आवश्यक हुन्छ।
सोही आधारमा प्रहरीले ट्रक चालक र अन्य दुई यात्रुलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढायो। प्रारम्भिक विवरणमा प्रहरीले २२ वटा गोरु रहेको जानकारी सार्वजनिक गर्यो, तर एक स्रोतका अनुसार वास्तवमा २४ गोरु थिए। “केही गोरुहरू पहिल्यै घाइते थिए, यात्रामा थप पीडा भोग्न बाध्य भए,” स्थानीय पशु चिकित्सक अभिनास भाल्टरले बताए।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) श्यामु अर्यालले प्रारम्भिक विवरणमा त्रुटि भएको बताएका छन् । “२४ वटा गोरु पठाइएको हो” अर्यालले भने, “यो विवरणमा टाइप मिस्टेक भएको हुनसक्छ।”
आदेशको पर्दा पछाडि
समातेर अनुसन्धान अघि बढाएपछि प्रहरीले थप कारबाहीको लागि भन्दै पशुसेवा केन्द्र कार्यालय मकवानपुरलाई गाडी र पशु जिम्मा लगायो। केही बेरमै मकवानपुरको पशु सेवा कार्यालयमा प्रमुख जिल्ला अधिकारीको फोन पुग्यो।
पशु सेवा कार्यालय प्रमुख ठाकुरका अनुसार, “यस्ता तस्करी बढेकाले थप कडा कारबाही हुने र किसानलाई सहयोग पुग्ने भन्दै उक्त गोरुहरू हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ का किसानलाई दिने कुरा सिडियो-स्किम श्रेष्ठले पनि गर्नुभएको थियो।”
जिल्ला प्रशासन कार्यालय मकवानपुरकी प्रमुख स्किमा श्रेष्ठले भने वितरण प्रक्रिया पुर्याएर गर्नुपर्छ भनेर भनिएको बताइन्। उनले भनिन्, “यदि वितरण मिलाएर गर्न सकिन्छ भने प्रक्रिया पुरा गरेर गर्न सकिन्छ भन्ने भनिएको हो। पशु सेवा कार्यालयलाई मैले आदेश दिनुपर्ने कुरै छैन।”
साँझ अँध्यारो छाउँदै गर्दा वडा अध्यक्ष सुनिल मोक्तानले चालकको व्यवस्था गरे र ती गोरु किसानसम्म पुर्याउन हेटौँडा–१५ का कार्यबहाक अध्यक्ष सिंह बहादुर लो, दुई प्रहरी जवान, पशु सेवा कार्यालयका प्रमुखसहितको टोली निस्किए। उनीहरू प्रदेश नै छोडेर मधेश प्रदेशको सिमरा उपमहानगरपालिका–२२, चकरी हुँदै दिम्बा दरामको जंगलमा पुगे, जहाँ हेटौँडा-१५ को सिमाना जोडिन्छ।
“बाटो निकै खराब थियो, गाडी पनि फस्यो। गोरुहरू पीडामा थिए, हामी पनि त्रासमा थियौँ,” टोलीका एक सदस्यले बताउछन । यात्राका क्रममा पहिल्यै घाइते रहेको एक र पशु सेवा कार्यालयमा ल्याउँदा अर्को गरी २४ मध्ये दुई गोरु मरिसकेका थिए।
जंगलको रहस्यमय रात
“घटनाक्रम फिल्मी जस्तो भान परिरहेको थियो,” पशु सेवा कार्यालयका प्रमुख बज्र किशोर ठाकुरले बताए। उनका अनुसार, त्यो रात उनीहरू पशुहरू किसानहरूलाई बितरण गर्न भन्दै निस्किएका थिए। निर्धारित मुख्य बाटोको सट्टा अर्को मार्ग अपनाइएको उनी बताउछन् । जुन सामान्यतया सवारीका लागि उपयुक्त थिएन। उनले भने, ” प्राय त्यो बाटो गाडीहरु गुड्ने थिएन् जस्तो लाग्यो तर वडा सदस्यकै निर्देशनमा त्यही बाटोमा गाडी हाँकिएको थियो ।”
त्यस क्रममा गाडी जंगलको बालुवायुक्त क्षेत्रमा फसेको उनले जानकारी दिए। उनले आशंका जनाउँदै भने, “मलाई यो घटनामा नियोजित होकी भन्ने आशंका पनि लाग्यो ।”
गाडी फसेपछि केहीबेरमै १५ नम्बर वडाका स्थानीयहरू त्यहाँ जम्मा हुन थाले। रातको समय, जंगलको छेउ भएकोले जोखिमको आशंका बढेको थियो। एकजना बृद्धले उपस्थितलाई ‘बाघ आउन सक्ने’ सम्भावनाबारे सावधानी अपनाउन भनेका थिए। गाडी त्यस रात निकाल्न सम्भव नदेखिएपछि गाडीमा रहेका २२ वटा गोरु वडा सदस्य अर्जुन बहादुर रुम्बाको रोहबरमा उपस्थित किसानहरूलाई जिम्मा दिइएको पशु सेवा कार्यालयका प्रमुख ठाकुरले बताए।
मरेका गोरु तथा गाडीको सुरक्षा र निगरानीका लागि गाडीका चालकसहित दुई जना अन्यलाई घटनास्थलमा राखिएको थियो। ‘जसलाई वडा सदस्यले केही पैसा दिएर हेरेर बस्न भनिएको थियो’, प्रमुख ठाकुरले बताए।
पशु सेवा कार्यालयका टोली फर्किए, बिहान त्यहाँ छाडिएका गोरु गाड्ने र फसेको ट्रक निकालेर कारबाहीको लागि कार्यालय ल्याउने योजना थियो।
दिन उज्यालोमा देखिएको दृश्य
भोलिपल्ट बिहान १० बजे टोली उक्त ठाउँ पुग्दा त्यहाँ गोरु हेर्न भनेर राखिएका व्यक्तिहरू र गोरु दुबै गायब थिए। “ट्रक नजिकै एक गोरुको छाला फेला पर्यो, अर्थात् छाला काढेर अरु लगेको जस्तो देखिन्थ्यो। छेउमै पेल्भिक बोन र केही टुक्रिएका मासुका अंश थिए। घटनास्थल हेर्दा यो जनावरको आक्रमण जस्तो थिएन, स्पष्ट रूपमा मानवद्वारा गरिएको वध थियो,” पशु सेवा कार्यालय प्रमुख डा. बज्र किशोर ठाकुरले बताए।
खोलापारिका केही स्थानीय बासिन्दा पनि त्यो अनौठो र दर्दनाक दृश्य हेर्न उपस्थित थिए। जंगलको छेउमा, रातभरि के भयो भनेर बुझ्न खोज्ने ती मध्ये एक स्थानीय बुढी बहादुर लामाले यो बाघको आक्रमण नभएर मान्छेले नै काटेको जस्तो देखिएको बताए। उनले भने, “हाम्रो नजिक यस्तो खाने कोही छैन, अलि माथिबाट आएका हुन् कि, खै! यो बाघको आक्रमण त पक्कै होइन। यो कुनै वन्यजन्तुको काम जस्तो लाग्दैन।”
उनले थाकेको स्वरमा थपे, “जुन तरिकाले छाला काढिएको, हड्डी अलग गरिएको छ, मासु काटिएको छ — त्यो बाघको ‘शिकार शैली’ होइन, त्यो त सीधै मानिसले गरेको प्रहार हो।”
पशु डाक्टरले समेत यो घटना जंगली जनावरबाट नभएर मानिसहरूबाट भएको हुनसक्ने जस्तो देखिएको बताए। उनले भने, “हामीले स्याम्पल पिस समेत ल्याएका छौं, अनुसन्धानको लागि यो गोरु नै हो भन्ने पुष्टि त्यसले हुन्छ।”
प्रहरीले मुचुल्का उठाएको र उक्त स्याम्पल अनुसन्धानको लागि भोलि पठाउने पत्र पठाउने बताएको ठाकुरले जानकारी दिए।
गोरु वितरण कानुनी तरिकाले
गोरु वितरणमा प्रत्यक्ष संलग्न रहेका वडा नं. १५ का कार्यवाहक वडा अध्यक्ष सिंहबहादुर लोले वितरण प्रक्रिया कानुनी र व्यवस्थित ढंगले गरिएको दाबी गरेका छन्। उनले इन्फोनेपालसँग कुरा गर्दै भने, “हामीले किसान भएकै ठाउँमा गोरु बितरण गर्ने योजना गरेका थियौं। पहिले मकवानपुरगढीको अन्य वडामा पनि त्यहीँ तरिकाले वितरण गरिएको भन्ने जानकारी पाएका थियौं । हामीले पनि त्यही प्रक्रिया पछ्याएका हौं।”
उनले बताएअनुसार, वितरणको दिन बेलुकी ८ बजे पशुसेवा कार्यालयबाट गाडी लिएर टोली निस्किएको थियो। वितरण स्थलमा पुग्दा ११ बजेको थियो। “जस ठाउँमा गोरु वितरण गरियो, त्यहीँ अनलोड गर्न मिल्ने थियो। अरू बाटोबाट हिँडिएको भन्ने गलत हो। हामीले सबै किसानको नागरिकता संकलन गरेर प्रमाण पनि राखेका थियौं,” उनले भने।
वितरणपछि पनि केहीबेर त्यहीँ बसेको उनले बताए। “रातको साँढे १२ बजेसम्म म त्यहाँ थिएँ। हामी त्यहाँ रहिरहन सक्दैन थियौं, त्यसैले त्यहाँका स्थानीय भाइहरूलाई जिम्मा दिएर गाडीभित्रै बस्न भन्यौं,” उनले थपे।
“त्यहाँका केही अग्रजहरूले भनेका थिए, ‘बाघ आउन सक्छ, सतर्क रहनुहोस्। ठाउँ पनि त्यसै थियो ‘ हामीले दुई वटा मरेका गोरु त्यहाँ ३ जनालाई हेर्न भनेर राति निस्कियौ। तर बिहान के भयो, कसले के गर्यो, मैले देखेको छैन। काटेर लगे कि, बाघले खायो कि, त्यो भगवानले जानून। मलाई त थाहा पनि थिएन के भयो भनेर,” कार्यबहाक अध्यक्ष लोले स्पष्ट पारे।
वडा अध्यक्ष सुनिल मोक्तानले भने कार्यक्रमलाई किसानका लागि राहतको रूपमा व्याख्या गरे। “हाम्रो उद्देश्य केवल किसानलाई राहत पुर्याउनु थियो। पशु सेवा कार्यालयले उपलब्ध गराएका गोरुहरू वितरण गरिएका हुन्। म त्यो बेलामा क्षेत्रबाहिर थिएँ, त्यसैले राति के भयो भनेर म भन्न सक्दिन, हाम्रो कार्यबहाक अध्यक्षको रोहबरमा वितरण गरेको जानकारी भने पाएको थिएँ,” उनले भने।
प्रशासनले भन्यो– स्थान सिमावर्ती क्षेत्र
यता, जिल्ला प्रशासन कार्यालय मकवानपुरकी प्रमुख स्किमा श्रेष्ठले गोरु हराएको र मासु भेटिएको विषयमा प्रशासनलाई ढिलो जानकारी आएको बताइन्। घटनास्थल बाराको सीमाक्षेत्रमा पर्ने सम्भावना भएकाले जानकारी आउन समय लागेको हुन सक्ने उनले स्पष्ट पारिन्।
“गोरु वितरण भएको भन्ने सामान्य जानकारी त हामीलाई थियो,” श्रेष्ठले भनिन्, “तर गोरुहरू हराए, मरे, मासु भेटियो भन्ने जानकारी हाम्रो ध्यानमा ढिलो आएको हो।” श्रेष्ठले उक्त घटनास्थल प्रशासनिक रूपमा आफ्नो क्षेत्रभित्र नपर्ने पनि स्पष्ट पारिन्।
उक्त क्षेत्र बारा जिल्लामा पर्ने भएकाले बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले आफूहरूलाई आवश्यक प्रक्रिया पुरा भए मात्र कदम चाल्न सकिने बताएका छन्। “हामीलाई यसबारे के गर्नुपर्ने हो भन्ने कुरा स्पष्ट हुनुपर्छ,” उनले भने, “पशु सेवा कार्यालय वा मकवानपुर प्रशासनले औपचारिक रूपमा लिखित जाहेरी दिनुपर्छ। त्यसपछि मात्र हामी आवश्यक कारवाहीमा जान सक्छौं।”
उनका अनुसार घटना पश्चात् मात्रै होइन, “हामीलाई त सिनो भएर हाड छाला मात्रै बाँकी भएको अवस्थामा सामान्य मुजुल्का उठाउन बोलाइएको रहेछ,” अधिकारीले स्पष्ट पारे। त्यस बाहेक अरु कुनै आधिकारिक सूचना नआएको उनको भनाइ छ।
नेपालमा पशु तस्करी नियन्त्रणका लागि कडाइ हुँदै आएको छ। तर कानुनको कमजोरी, जिम्मेवार निकायको ढिलासुस्ती र स्थानीय राजनीतिक दबाबका कारण यस्ता घटना बारम्बार घटिरहेका छन्। तथ्यांकअनुसार, नेपालमा हरेक वर्ष हजारौं चौपाया भारत र अन्य देशमा गैरकानुनी रूपमा लैजाने प्रयास गरिन्छ। मकवानपुर र सर्लाहीजस्ता सीमा नजिकका जिल्लामा पशु तस्करीको दर उच्च रहेको छ।
नेपालमा गोरु केवल कृषकको साधन मात्र होइन, सांस्कृतिक र धार्मिक हिसाबले पनि विशेष महत्व राख्छ। गोरु तिहारमा पूजा गरिन्छ। यस्तो धार्मिक मान्यता बोकेको जनावरको यति अमानवीय अवस्थाले समाजलाई झक्झक्याएको छ।