फिचरहेटौँडाकी मेयर लामासँग १० प्रश्न: तीन वर्षे कार्यकालमा उपलब्धि र योजना

हेटौँडाकी मेयर लामासँग १० प्रश्न: तीन वर्षे कार्यकालमा उपलब्धि र योजना

राजधानी मात्र होइन, आत्मनिर्भर औद्योगिक शहरतर्फ हेटौँडा: मेयर लामा

हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौँडामा स्थानीय सरकारले औद्योगिक र सामाजिक रुपान्तरणका ठूला योजना अघि सारेको छ। उपमहानगर प्रमुख मिना कुमारी लामाले ऐतिहासिक हेटौँडा कपडा उद्योग पुनः सञ्चालन, काठमाडौं–हेटौँडा रोपवे पुनर्जीवन, पाँच वर्षे शिक्षा रणनीति र तेस्रो सन्तान प्रोत्साहन नीति प्राथमिकतामा रहेको बताएकी छन्।

तीन वर्षअघि निर्वाचित भएकी लामाले आधा कार्यकाल सक्दा संघीय कानुनी अवरोध, बढ्दो बसाइँसराइ र स्रोतको सीमितता मुख्य चुनौती रहेको स्वीकार गरेकी छन्। तर उनले हेटौँडालाई राजधानी मात्र नभई आत्मनिर्भर औद्योगिक शहर बनाउने प्रतिबद्धता जनाएकी छन्।

बन्द भएको हेटौँडा कपडा उद्योग पुनर्जीवनका लागि संघीय उद्योग मन्त्रालयसँग छलफल भइरहेको लामाले जानकारी दिइन्। हजारौँ रोजगारी सृजना गर्न सक्ने यो उद्योगलाई पुनः सञ्चालन गर्न कानुनी व्यवस्था मिलाउनुपर्ने उनको भनाइ छ।

त्यस्तै, नेपालको पहिलो रोपवेका रूपमा चिनिने काठमाडौं–हेटौँडा रोपवेलाई पनि आधुनिक प्रविधि प्रयोग गरी पुनः सञ्चालन गर्ने सम्भावनाबारे अध्ययन भइरहेको उनले बताएकी छन् ।

उपमहानगरले पाँच वर्षे शिक्षा रणनीति लागू गर्दै मेगा विद्यालय अवधारणा ल्याएको उनले जानकारी दिईन् । गुणस्तरीय शिक्षक, यातायात सुविधा र प्रविधिमैत्री शिक्षा यस योजनाका मूल आधार हुन्।

हेटौँडा चार वटा राष्ट्रिय राजमार्ग जोडिएको शहर भएकाले बसाइँसराइ बढ्दो छ। सडक, खानेपानी, शिक्षा, स्वास्थ्य र आवासमा दबाब चर्किंदै गएको अवस्थामा उपमहानगरले संघीय र प्रदेश सरकारसँग साझेदारीमा काम अगाडि बढाइरहेको लामाको भनाइ छ।

लामाले तीन वर्षमा स्थानीय राजस्वबाट कृषि प्रवर्द्धन, किसानलाई मलदेखि पुँजीसम्म सहयोग, ड्र्यागन फल, मेवा, केरा जस्ता उत्पादनको निर्यात वृद्धि र आठ हजार घरपरिवारलाई निःशुल्क पानी वितरणलगायत उपलब्धि उल्लेख गरिन्। प्रमुख मिना कुमारी लामासँग सोधिएका १० प्रश्न र तिनका जवाफको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ।

प्रश्न १: आधा भन्दा बढी (३ वर्ष) कार्यकाल सकिएको छ। हेटौँडा उपमहानगरपालिकाको विकास निर्माणमा तपाईंले गर्नुभएको मुख्य उपलब्धि के के हुन्?
नगर मिना प्रमुख कुमारी लामा: हामीले धेरै क्षेत्रमा काम गरेका छौं। मुख्यतः आर्थिक पुनरुत्थानमा हाम्रो फोकस रह्यो। हामीले ड्र्यागन फल कृषिलाई प्रवर्धन गरेर १ लाख भन्दा बढी बोट रोप्न सफल भएका छौं। यसैगरी स्थानीय गुन्द्रुक उद्योग स्थापना गरेर सयौं महिलाहरूलाई रोजगारी सिर्जना गरेका छौं। प्रदेश सरकारसंग साझेदारीमा ठूलो थोक बजार निर्माण गरी युवाहरूलाई रोजगारीको अवसर पनि सिर्जना गरेका छौं। हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालनमा ल्याउने महत्वाकांक्षी योजना बनाएका छौ । काठमाडौँ–हेटौँडा रोपवे लाई पनि प्राथमिकतामा राखिएको छ। यसलाई आधुनिक रुपमा पुनर्सञ्चालन गर्ने सम्भावनाबारे अध्ययन भइरहेको छ ।

प्रश्न २: हेटौँडा कपडा उद्योग जस्तो ठूलो रुग्न उद्योग स्थानीय तहले चलाउन सक्नुहुन्छ भन्ने विश्वास कहाँबाट आयो?
लामा: विश्वास भनेको हाम्रो इच्छाशक्ति र जनताको अपेक्षाबाट आएको हो। तर साँचो कुरा के भने, यो हाम्रो अधिकारक्षेत्रभित्रको मात्रै मुद्दा होइन। मैले व्यक्तिगतरूपमा उद्योग मन्त्रीज्यूसँग भेट्ने प्रयास गरेको छु, तर पटकपटक मन्त्री नै फेरिँदै फेरीदा समस्या पनि भैरहेको छ । संघीय सरकारले चाह्यो भने दिन सक्छ, तर त्यसको लागि नीति र कानुन बनाउनु पर्छ।

प्रश्न ३: काठमाडौँ-हेटौँडा रोपवे पुनर्जीवनको लागि के के पहल भइरहेको छ?
लामा: हामीले संघीय सरकारसँग र प्रदेश सरकारसँग यसको विषयमा समन्वय गरिसकेका छौं। यसलाई कसरी आधुनिक रूपमा पुनर्सञ्चालन गर्न सकिन्छ भनेर अहिले अध्ययन भइरहेको छ । प्रविधि अहिले अझै उन्नत भएकाले यसलाई अझ सजिलो र कम खर्चिलो बनाउन सकिने विषयमा विचारविमर्श चलिरहेको छ।

प्रश्न ४: तपाईंले तेस्रो सन्तानलाई प्रोत्साहन दिने नीति बनाउनुभएको छ। यसले गरिबी बढाउने आरोपलाई कसरी जवाफ दिनुहुन्छ?
लामा: म एकचोटि कोरिया जाने मौका पाएको थिएँ। त्यहाँका मेयरहरुले भन्नुभयो “हाम्रो महिलाहरुले बच्चै जन्माएनन्। हामी अब यसको लागि लभिङ गर्छौं।” त्यो भएपछि मैले महसुस गरेँ कि विकसित मुलुक पनि यस्तै समस्यामा छन्। हामी बोर्डर छेउमा छौं। हाम्रो जनशक्ति नै हाम्रो शक्ति हो। जब मेरो दुइटा छोराछोरी छन्, उनीहरुले अब किन बच्चा जन्माउने भन्छन्। यो त विकासको चरम उत्कर्षमा जाने समस्या हो।

प्रश्न ५: शिक्षामा ईसीडी शिक्षक र विद्यालयका कर्मचारीहरूको स्थायीताको मुद्दा समाधानका लागि के गर्न सक्नुहुन्छ?
लामा: यो समस्या संघीय सरकारले ऐन बनाउन नसकेकोले हो। संसदले जस्तो ऐन छलफल गर्दा बालविकास केन्द्रका शिक्षकहरुलाई सहजकर्ता मात्रै पहिले जस्तै राख्ने, उनीहरुलाई मूलधारमा ल्याउने कुरा ल्याएन। हामीले उहाँहरुलाई जिल्ला दर रेटमा तलब दिइरहेका छौं, तर यो स्थायी समाधान होइन। यो कुरा संघीय सरकारले नै हेर्नुपर्छ।

प्रश्न ६: हेटौँडामा बढ्दो बसाइँसराइले पूर्वाधारमा दबाब बनाएको छ। यसको व्यवस्थापन गर्ने रणनीति के हो?
लामा: हेटौँडा सबै दृष्टिकोणले वातावरणीय दृष्टिकोणले, शिक्षाको हब बनेको छ। चारवटा राष्ट्रिय हाइवे जोडिएकोले हरेक ठाउँबाट आउनेको केन्द्रबिन्दु नै हेटौँडा हो। यसको व्यवस्थापनको लागि हामीले संघ र प्रदेशसँग समन्वयमा काम गर्छौं। जस्तै तरकारी थोक बजार प्रदेशले ७०% र हामीले ३०% लगानीमा बनायौं। त्यसैगरी बाटो बनाउँदा पनि साझेदारीमा बनाइरहेका छौं।

प्रश्न ७: यी तीन वर्षमा स्थानीय सरकारले आफ्नो राजश्वबाट के-के योजनाहरू सञ्चालन गर्नुभएको छ?
लामा: हाम्रो आफ्नै राजश्वबाट हामीले धेरै योजना सञ्चालन गरिरहेका छौं। हामीले किसानहरूलाई मलदेखि लिएर पुँजीसम्म अनुदान दिँदै आएका छौं। यसकारण हेटौँडाबाट ड्र्यागन फल, मेवा, केरा जस्ता उत्पादनहरू काठमाडौँ र विदेश निर्यात हुन थालेका छन्। हामीले आफ्नै राजश्वबाट साना-साना उद्यमहरूलाई सहयोग पुर्याउँदै आएका छौं।

प्रश्न ८: आफ्नो कार्यकालको बाँकी समयमा के-के गर्न चाहनुहुन्छ?
लामा: बाँकी रहेको समयमा हामीले हेटौडाको विकासलाई अझ गतिशील बनाउने छौं। हामीले सुरु गरेका ड्र्यागन फल, गुन्द्रुक, मेवा जस्ता उद्यमहरूलाई अझ विस्तार गर्ने छौं। साथै, ठूला बन्द कारखानाहरूलाई सञ्चालनमा ल्याउने पनि हाम्रो लक्ष्य हो। हेटौँडा कपडा उद्योगलाई पुनःसञ्चालन गर्ने र काठमाडौँ-हेटौडा रोपवे लाई पनि प्राथमिकतामा राख्ने छौं।

प्रश्न ९: तपाईंको नेतृत्वमा हेटौँडाको सबैभन्दा ठूलो उपलब्धि के हो?
लामा: सबैभन्दा ठूलो उपलब्धि भनेको हामीले स्थानीय सरकारको रूपमा जनतासँग प्रत्यक्ष सम्बन्ध कायम गर्न सकेको हुनु हो।  हामी सधैं जनताको घरदैलोमा पुग्न सकेका छौं। हरेक घरदैलोमा आज स्थानीय जनप्रतिनिधि पुग्नुभएको छ। हामीले किसानहरूलाई मलदेखि लिएर पुँजीसम्म अनुदान दिएका छौं। ८ हजार घरपरिवारलाई निशुल्क पानी दिइरहेका छौं। यो नै हाम्रो ठूलो उपलब्धि हो।

प्रश्न १०: संघीय र प्रदेश सरकारसँगको समन्वयमा कति सफल भइनुभएको छ?
लामा: हामीले संघीय सरकारसँग र प्रदेश सरकारसँग साझेदारीमा धेरै कामहरु गरेका छौं। जस्तै अहिले तरकारी थोक बजार बनायौँ। प्रदेश स्तरीय। त्यहाँ प्रदेशले ७० प्रतिशत लगानी गर्यो। हामीले ३० प्रतिशत लगानी गर्यौँ। त्यसैगरी बाटो बनाउँछौँ। त्यो बाटो पनि बनाउँदा खेरि पनि हामीले साझेदारीमा बनाइरहेका छौं। तर केही ठूला योजनाहरू, जस्तै कपडा उद्योग, जुन स्थानीय तहको इच्छाशक्ति र जनताको आकांक्षाभन्दा परै रहेका छन्, कानुनी अवरोधले गर्दा अझै पनि पूरा हुन सकेका छैनन्। तर, हामी आशावादी छौं र संघीय सरकारसँगको समन्वयबाट यी कुरा समाधान हुने विश्वास छ।

( नोट : यो सामग्री हेटौँडा उपमहानगर प्रमुख मिना कुमारी लामासँग इन्फो नेपालले गरेको प्रत्यक्ष संवादमा आधारित छ। प्रश्न–उत्तरलाई सम्पादन गरी प्रस्तुत गरिएको हो।)

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img