देशप्रतिनिधिसभा निर्वाचनः देशभर ३ हजार ४८४ जनाको मनोनयन, महिला उम्मेदवारको संख्या न्यून

प्रतिनिधिसभा निर्वाचनः देशभर ३ हजार ४८४ जनाको मनोनयन, महिला उम्मेदवारको संख्या न्यून

बागमती |  प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मंगलबार देशभर मनोनयन दर्ता सम्पन्न भएको छ। निर्वाचन आयोगका अनुसार प्रत्यक्षतर्फका १६५ निर्वाचन क्षेत्रमा स्वतन्त्रसहित विभिन्न राजनीतिक दलबाट कुल ३ हजार ४८४ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

प्रारम्भिक विवरणअनुसार उम्मेदवारमध्ये ३९५ महिला, ३ हजार ८८ पुरुष र एक जना अन्य रहेका छन्। राजनीतिक दलबाट २ हजार २९७ र स्वतन्त्रतर्फ १ हजार १८७ जनाले उम्मेदवारी दर्ता गराएका हुन्।

आउँदो फागुन २१ गते हुने निर्वाचनका लागि नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायत दल र स्वतन्त्र उम्मेदवारबाट ३९१ महिला प्रतिस्पर्धामा छन्। पुरुष उम्मेदवारको संख्या २ हजार ५८९ पुगेको छ।

तर, मुख्य दलहरूले उठाएका महिला उम्मेदवारको संख्या न्यून देखिएको छ।

कांग्रेसबाट ११ महिला उम्मेदवार

१६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको नेपाली कांग्रेसले प्रत्यक्षतर्फ ११ जना महिलालाई मात्र उम्मेदवार बनाएको छ। पार्टीले १०६ जना नयाँ उम्मेदवार अघि सारे पनि गण्डकी र सुदूरपश्चिम प्रदेशमा एक जनालाई पनि महिला उम्मेदवार बनाएको छैन।

कांग्रेसबाट झापा–२ मा सरिता प्रसाईं, झापा–५ मा मन्धरा चिमरिया, महोत्तरी–३ मा किरण यादव, सिरहा–४ मा चन्द्रकला कुमारी यादव, सिन्धुली–२ मा सुशीला थिङ, मकवानपुर–१ मा महालक्ष्मी उपाध्याय ‘डिना’, काठमाडौँ–८ मा सपना राजभण्डारी, काठमाडौँ–९ मा नानु बास्तोला, चितवन–२ मा मीना कुमारी खरेल, पूर्वी रुकुममा कुसुमदेवी थापा मगर र दैलेख–१ मा वासना थापाले उम्मेदवारी दर्ता गराएका छन्।

डिना, प्रसाईं, सुशीला थिङ, किरण यादव, सपना राजभण्डारी र कुसुमदेवी थापा मगर पूर्वसांसद हुन् भने चिमरिया, चन्द्रकला यादव र बास्तोला पहिलोपटक संसदीय प्रतिस्पर्धामा छन्।

एमाले र नेकपामा पनि महिला सहभागिता सीमित

नेकपा एमालेले सोलुखुम्बुमा कल्पना राई, ओखलढुंगामा अस्मिता थापा, बारा–३ मा ज्वालाकुमारी शाह, धनुषा–२ मा जुली महतो र बाग्लुङ–२ मा मञ्जु चालिसेलाई उम्मेदवार बनाएको छ। एमालेले कर्णाली र सुदूरपश्चिममा महिला उम्मेदवार उठाएको छैन।

१६४ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको नेपाली कम्युनिस्ट पार्टीले १२ जना महिला उम्मेदवार अघि सारेको छ। झापा–२ मा धर्मशिला चापागाईं, संखुवासभामा सरिता खड्का थापा, सुनसरी–२ मा रामकुमारी चौधरी, सप्तरी–४ मा रुवीकुमारी कर्ण, काठमाडौँ–१ मा मेनका भण्डारी, काठमाडौँ–४ मा कल्पना शर्मा, काठमाडौँ–१० मा रुपा महर्जन, कञ्चनपुर–१ मा बिना मगर, चितवन–३ मा रेनु दाहाल, काभ्रेपलाञ्चोक–२ मा बसुन्धरा हुमागाईं, नवलपरासी पश्चिममा सिन्धु जलेशा र मनाङमा यशोदा सुवेदी गुरुङ उम्मेदवार बनेका छन्।

नेकपाले काठमाडौँ उपत्यकामा मात्रै तीन जना महिलालाई टिकट दिएको छ।

रास्वपा र अन्य दल

रास्वपाले १० जना महिला उम्मेदवार उठाएको छ। काठमाडौँ–१ बाट रञ्जु दर्शना, झापा–१ मा निशा डाँगी, झापा–२ मा इन्दिरा राना मगर, मोरङ–५ मा आशा झा, मोरङ–६ मा रुविना आचार्य, सुनसरी–१ मा सरिन (गोमा) तामाङ, कास्की–३ मा बिना गुरुङ, जुम्लामा विनिता कठायत, हुम्लामा टासी लाह्जोम, चितवन–३ मा सोविता गौतम र धादिङ–१ मा आशिका तामाङ प्रतिस्पर्धामा छन्।

यसैबीच, नेपाली चलचित्र क्षेत्रकी अभिनेत्री निशा अधिकारीले काठमाडौँ–५ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएकी छन्। उनले हालै दर्ता भएको ‘गतिशील लोकतान्त्रिक पार्टी’ बाट उम्मेदवारी दिएकी हुन्।

राप्रपाले ११ जना महिला उम्मेदवार उठाएको छ भने अन्य साना दल र स्वतन्त्रतर्फबाट पनि महिला उम्मेदवारी परेको छ।

निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतका अनुसार सोमबार साँझ ६ बजेसम्म प्राप्त विवरणअनुसार प्रत्यक्षतर्फ २ हजार ९२५ जनाको उम्मेदवारी दर्ता भएको छ। समावेशीतातर्फ अपाङ्गता भएका व्यक्तिबाट ८५ र पिछडिएको क्षेत्रबाट १३८ जनाको उम्मेदवारी परेको छ। प्रारम्भिक विवरण भएकाले अन्तिम संख्यामा सामान्य हेरफेर हुन सक्ने आयोगले जनाएको छ।

निर्वाचन कार्यतालिकाअनुसार माघ ७ गते उम्मेदवारविरुद्ध उजुरी दिने, माघ ८ गते नामावली प्रकाशन गर्ने र माघ ९ गते उम्मेदवारी फिर्ता तथा निर्वाचन चिह्न वितरण गर्ने कार्यतालिका रहेको छ।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img