हेटौँडा | निर्वाचनको मौन अवधि सुरु हुनुअघि मकवानपुर क्षेत्र नम्बर–१ का उम्मेदवार रमेश उप्रेतीले मतदातालाई “विवेकको मत प्रयोग गर्न” आग्रह गरेका छन्। प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट ‘आँखा’ चुनाव चिह्न लिएर मैदानमा उत्रिएका उप्रेतीले पुराना र नयाँ भनिएका दलहरूबीच व्यवहारमा खासै फरक नदेखिएको टिप्पणी गरे।
इन्फो नेपालसँगको चुनावी संवादमा उनले भने, “जनताले परिवर्तन खोजेका छन्। तर पुरानै बाइक र्याली, झन्डा, ब्यानर र तामझामबाट परिवर्तन आउँदैन।” उनका अनुसार निर्वाचन खर्चिलो बन्दै जाँदा त्यसको असर संसदसम्म पुग्छ र भ्रष्टाचारको चक्र दोहोरिन्छ। “खर्च उठाउनै पर्ने मानसिकताले सुशासनलाई कमजोर बनाउँछ,” उनले भने।
उप्रेतीले आफ्नो प्रचार शैलीलाई ‘कम खर्चिलो र डिजिटल’ भएको दाबी गरे। घरदैलो अभियानसँगै सामाजिक सञ्जाल र सञ्चार माध्यममार्फत एजेन्डा पुर्याइएको उनको भनाइ छ। “हामीले कानै फुट्ने गरी डिजे बजाउने, भीड देखाउने राजनीति गरेका छैनौं,” उनले भने, “जनताको समस्या टिपोट गरेर संसदमा उठाउने प्रतिबद्धताका साथ हिँडेका छौं।”
उप्रेतीले मकवानपुर–१ का स्थानीय समस्यालाई आधार मानेर क्षेत्रगत घोषणापत्र तयार गरेको बताए। भूमिहीन र सुकुम्बासी समस्या, बफर जोनका विवाद, स्वास्थ्य र शिक्षामा देखिएका कमजोरीलाई प्राथमिकतामा राखिएको उनले स्पष्ट पारे। “३२ सालदेखि सुकुम्बासी मुद्दा चुनावी एजेन्डा बन्दै आएको छ,” उनले भने, “जिते पनि हारे पनि यो आवाज उठाइरहनेछु।”
युवा पलायनबारे उनले राज्य पुनर्संरचना र ‘मुहान सफा’ गर्नुपर्ने आवश्यकता औंल्याए। कर प्रणालीलाई एकद्वार बनाउने, प्राविधिक शिक्षालाई रोजगारसँग जोड्ने, बन्द उद्योगलाई सार्वजनिक–निजी साझेदारी (PPP) मोडलमा सञ्चालन गर्ने र साना–मझौला उद्योगीलाई प्रारम्भिक दुई वर्ष सहुलियत दिने नीति ल्याउनुपर्ने उनको प्रस्ताव छ। “रोजगारसँगै शिक्षा” अवधारणाले युवालाई देशमै रोक्न सकिने उनले बताए।
उप्रेतीले आफूलाई वैकल्पिक शक्तिको रूपमा प्रस्तुत गर्दै नयाँ दलहरूको शैलीमाथि पनि प्रश्न उठाए। राष्ट्रिय स्वतन्त्र पार्टी र उज्यालो नेपाल लगायतका दलहरूले पनि पुरानै ढाँचाको प्रचार गरेको उनको आरोप छ। “नयाँ भन्नेहरूले पनि पुरानै शैली कपी–पेस्ट गर्दा जनतामा आशा जगिँदैन,” उनले भने।
उनले निर्वाचन आयोगको आचारसंहिता उल्लंघन हुने गरी प्रचार भएकोप्रति असन्तुष्टि जनाए। “२५ जनाभित्र सीमित प्रचारको व्यवस्था हुँदाहुँदै डिजे र ठूलो तामझामले सुशासनको सन्देश दिँदैन,” उनले टिप्पणी गरे।
मतदातामा देखिएको ‘कन्फ्युजन’ स्वाभाविक भएको उनले स्वीकार गरे। “सबै राम्रा जस्ता देखिन्छन्,” उनले भने, “तर एजेन्डा, स्पष्टता र व्यवहारमा कसले फरक देखायो भन्ने हेर्नुपर्छ।” उनले आफ्नो अनुभव—देश–विदेशको बसाइ, युवा अवस्थाको भोगाइ र समाधान खोज्ने आधार भएको दाबी गरे।
मौन अवधिलाई लक्षित गर्दै उनले मत किनबेच नगर्न आग्रह गरे। “भोट पैसा र मासु–चिउरामा नसाट्नुस्,” उनले भने, “कसैले पैसा दिन आयो भने लिइदिनुस्, तर मत हाल्दा विवेक प्रयोग गर्नुस्।”
अन्त्यमा उनले मतदाताको चेतनास्तरमाथि विश्वास व्यक्त गरे। “उहाँहरूले आफ्नो अधिकार र विवेक प्रयोग गरेर निर्णय गर्नुहुन्छ भन्नेमा म विश्वस्त छु,” उनले भने।



