समाजहेटौँडामा आचारसंहिताले होलीलाई बनायो सभ्य र संयमित (तस्बिरहरु)

हेटौँडामा आचारसंहिताले होलीलाई बनायो सभ्य र संयमित (तस्बिरहरु)

हेटौँडा | प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा परेको फागु पूर्णिमा (होली) पर्व यस वर्ष हेटौँडामा विगतको तुलनामा शान्त र संयमित देखिएको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले सार्वजनिक स्थानमा भिडभाड, मदिरा बिक्री–वितरण तथा ठूलो साउन्ड सिस्टम प्रयोगमा रोक लगाएकोले अघिल्ला वर्षजस्तो रौनक देखिएन।

विशेषगरी स्कुलरोड, राप्तीरोड र संगमचोक क्षेत्रमा हरेक वर्ष बाक्लो भीड लाग्ने भए पनि यसपालि जमघट न्यून रह्यो। प्रशासनले फागुन १४ गतेदेखि नै मदिराजन्य पदार्थको बिक्री–वितरण र सेवनमा रोक लगाएको थियो। सार्वजनिक स्थलमा डिजे, पानीका फोहोरा, जथाभावी रंग प्रयोग र समूहगत रूपमा हिँडडुल गर्ने गतिविधिमा निगरानी राखिएको छ ।

गैर–सरकारी संस्थाहरूमा होली सभ्य र व्यवस्थित मनाइएको गैसस महासंघ मकवानपुरकी अध्यक्ष रमिला सापकोटाले बताइन्, “पहिला–पहिलाजस्तो भीडभाड र उच्छृङ्खल गतिविधि यसपालि देखिएन। मदिरा सेवन नगर्ने, इच्छाविपरीत रंग नहाल्ने, ठूलो समूहमा नहिँड्ने जस्ता कुरामा प्रशासन सक्रिय देखियो। यस्तो खालको आचारसंहिता चुनावका बेला मात्र होइन, हरेक वर्ष लागू हुनुपर्छ। घरपरिवारसँगै संयमित रूपमा मनाउँदा होलीको वास्तविक अर्थ जोगिन्छ।” उनले प्रशासनले सूचना मात्र जारी नगरी फिल्डमै खटेर कार्यान्वयन गरेको देख्दा सकारात्मक सन्देश गएको पनि बताइन्।

त्यस्तै, रेडियो थाहा सञ्चारले यसपटक सामान्य तरिकाले होली मनाएको छ। स्टेशन म्यानेजर गोकुल अधिकारीले भने, “हामीले आफ्नै परिसरमा, स्टाफ र थोरै अतिथीसँग मात्रै कार्यक्रम राख्यौं। सिडिओ साबले आफ्नै एरियामा, घरभित्रै मनाउन सुझाव दिनुभएको थियो। त्यसैले हामीले त्यही पालन गर्यौं। शान्तिपूर्ण, व्यवस्थित र कानुनी रूपमा पर्व मनाउनाले समुदायमा सकारात्मक सन्देश जान्छ।”

उनले विश्वमा जारी युद्धले पनि मनमा अलिकति प्रभाव पारिरहेको बताए। उनले यो केवल आचारसंहिताको पालना मात्र नभई मिडियाकर्मीको दायित्व पनि रहेको बताए ।

निर्वाचनको संवेदनशील समयमा परेको होलीलाई लक्षित गर्दै प्रशासनले घरपरिवारभित्रै संयमित रूपमा पर्व मनाउन आग्रह गरेको छ। स्थानीयवासी तथा संस्थाहरूले पनि आचारसंहिता पालना गर्दै शान्तिपूर्ण रूपमा होली मनाएका छन्।

केही तस्बिर:

 

 

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img