हेटौँडा | मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ कर्रा पुल नजिक पूर्व–पश्चिम सडक खण्डमा भएको सवारी दुर्घटनामा घाइते भएका एक निर्वाचन प्रहरी जवानको उपचारका क्रममा मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार फागुन १४ गते बिहान रौतहटबाट काठमाडौँतर्फ जाँदै गरेको बा.प्र.०३–००१ च १५६५ नम्बरको यौद्धा पिकअपले ठक्कर दिँदा पशुपतिनगरमा कार्यरत निर्वाचन प्रहरी पवन साह घाइते भएका थिए।
रौतहटको फतुवा विजयपुर नगरपालिका–७ निवासी २४ वर्षीय साहलाई दुर्घटनापछि उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेज लगिएको थियो। उपचारकै क्रममा फागुन १८ गते उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न पिकअप र चालक रौतहट चन्द्रपुर नगरपालिका–८ का २५ वर्षीय अर्जुन चौधरीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



