हेटौँडा । सेना दिवस २०८२ को अवसरमा आइतबार राजधानीको टुँडिखेलमा अमेरिकी सेनाको ब्यान्डले दिएको प्रस्तुति सामाजिक सञ्जालमा भाइरल बनेको छ। कतिपयले यसलाई लिएर ‘विदेशी सेनाले नेपाली भूमिमा प्रवेश गर्यो’ वा ‘नेपाल युक्रेन जस्तै बनाइँदैछ’ भनी त्रास सिर्जना गर्ने प्रयास गरेका थिए।
तर तथ्यअनुसार, सेना दिवसमा मित्र राष्ट्रका सैनिक ब्यान्ड सहभागी भएर प्रस्तुति दिने प्रचलन नयाँ होइन। यसअघि पनि अमेरिकी, बेलायती र भारतीय सेनाका ब्यान्डहरूले नेपाली सेना दिवसमा प्रस्तुति दिएका छन्। अवकाशप्राप्त मेजर जनरल बिनोज बस्न्यातका अनुसार विदेशी सेनाको ब्यान्डले प्रदर्शन गर्नु सामान्य विषय हो र यसलाई हस्तक्षेप भन्नु गलत हो। नेपाली सेनाले जारी गरेको प्रेस विज्ञप्तिमा पनि भारत, बेलायत र संयुक्त राज्य अमेरिकाका सैनिक ब्यान्डहरूले मात्र साङ्गीतिक प्रस्तुति दिएको उल्लेख छ। विगतका वर्षमा पनि मित्र राष्ट्रका सैनिक ब्यान्डले नेपालका विभिन्न स्थानमा प्रस्तुति दिइसकेका छन्।
सामाजिक सञ्जालमा अमेरिकी सेनाको परेडलाई लिएर फैलाइएका दाबीहरू जस्तो कि ‘विदेशी सेना प्रवेश’, ‘नेपालको स्वाधीनता लुटिएको’ वा ‘नेपाल युक्रेन बन्ने बाटोमा लागेको’ भ्रामक सावित भएका छन्। यो प्रस्तुति केवल नियमित सैनिक कूटनीतिको हिस्सा हो र नेपाल–मित्र राष्ट्रबीचको सैनिक सम्बन्धलाई सुदृढ गर्ने प्रक्रिया हो।



