मौसमपश्चिमी वायुको प्रभाव कायमै, आज ६ प्रदेशमा वर्षा र हिमपातको सम्भावना
spot_img

पश्चिमी वायुको प्रभाव कायमै, आज ६ प्रदेशमा वर्षा र हिमपातको सम्भावना

हेटौँडा | देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायम रहँदा आज कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल कर्णालीसहित उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका केही स्थानमा बिहानको समयमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेकोले दैनिक जनजीवन र सवारी आवागमन प्रभावित हुन सक्ने देखिएको छ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा सामान्य बदली रही थोरै स्थानमा हल्का वर्षा तथा हिमपात हुनसक्ने पूर्वानुमान गरिएको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भेगमा पनि एक–दुई स्थानमा वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

रातिको समयमा भने कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम प्रायः सफा रहनेछ। तराईका केही स्थानमा तुवाँलो लाग्ने सम्भावना रहेकाले विशेषगरी बिहान र बेलुका सवारी चालकलाई सतर्कता अपनाउन सुझाव दिइएको छ।

मौसमविद्हरूका अनुसार पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव आगामी दुई–तीन दिनसम्म आंशिक रूपमा रहन सक्ने भएकाले पहाडी तथा हिमाली क्षेत्रमा यात्रा गर्नेहरू, कृषक र पर्यटकले पछिल्लो मौसमी जानकारी हेरेर योजना बनाउन अनुरोध गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img