काठमाडौं | सर्वोच्च अदालतले बीएन्डसी मेडिकल कलेजका मालिक तथा हिन्दु धर्म अभियन्ता दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश दिएको छ। बन्दीप्रत्यक्षीकरण रिटमा मंगलबार सुनुवाइ गर्दै न्यायाधीशद्वय मनोजकुमार शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले प्रसाईंलाई तत्काल रिहा गर्न आदेश दिएको हो।
निर्वाचन भाँड्ने आशंकामा सरकारले फागुन ४ गते मध्यराति भक्तपुरको थिमीस्थित निवासबाट प्रहरीमार्फत प्रसाईंलाई पक्राउ गरेको थियो। त्यसयता उनी जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा थिए।
यसअघि पनि प्रसाईं पटक–पटक प्रहरी नियन्त्रणमा परेका छन्। माघ २३ गते पक्राउ परेपछि उनी सरकारी वकिलको कार्यालयबाट हाजिर जमानीमा रिहा भएका थिए। त्यस्तै, माघ ५ गते पोखरा पुगेका बेला पनि प्रहरीले उनलाई पक्राउ गरी बयान लिएर छाडेको थियो।
सरकारले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको संवादपछि प्रसाईंले निर्वाचनसँग सम्बन्धित विवादित अभिव्यक्ति दिएको भन्दै निर्वाचन प्रक्रिया प्रभावित हुनसक्ने आशंका गरेको थियो। सोही कारण पर्सा जाने क्रममा बल्खुबाट प्रहरीले उनलाई पक्राउ गरेको थियो। त्यसबेला निर्वाचन आयोगको पत्रका आधारमा साइबर ब्यूरोले नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको थियो। बयानपछि उनी हाजिर जमानीमा छुटेका थिए।
यस पटक प्रसाईंसँगै नेकपा (बहुमत) का नेता धर्मेन्द्र बाँस्तोलासहित ऋषि कट्टेललाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो। सर्वोच्चको आदेशसँगै प्रसाईं तत्काल रिहा हुने प्रक्रिया अघि बढाइएको छ।



