हेटौँडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–२ मोरेमा बिजुलीको पोल गाड्ने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
बिहीबार अपराह्न करिब ४:३० बजे गाउँमा बिजुली विस्तारका लागि ५/६ जना मिलेर फलामको पोल गाड्ने क्रममा उक्त पोल माथिल्लो हाईटेन्सन लाइनमा छोएपछि दुर्घटना भएको हो।
दुर्घटनामा परी मकवानपुरगढी–२ मापुङ बस्ने राजकुमार गोले गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि चुरेहिल अस्पताल लगिएकोमा साँझ ५:४५ बजे चिकित्सकले मृत घोषणा गरेका छन्।
यस्तै, मकवानपुरगढी–७ सानडाँडा निवासी मानबहादुर गोले मध्यम अवस्थामा रहेका छन् भने मकवानपुरगढी–२ मोरेका अन्दाजी ३० वर्षीय राजकुमार स्याङतान सामान्य घाइते भएका छन्।
घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली खटिई घाइतेहरूको उद्धार गरी अस्पताल पठाइएको थियो।



