देशस्वतन्त्र पत्रकार सङ्घमा पुनः बास्तोला निर्वाचित

स्वतन्त्र पत्रकार सङ्घमा पुनः बास्तोला निर्वाचित

नवलपुर (गैंडाकोट) | स्वतन्त्र पत्रकार सङ्घ नेपालको पाँचौँ अधिवेशन तथा १४औँ वार्षिक साधारण सभा गैंडाकोटमा सम्पन्न भएको छ। अधिवेशनले कृष्णप्रसाद बास्तोलालाई पुनः अध्यक्षमा चयन गरेको छ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा तिर्सना लक्ष्मी गुरुङ, महासचिवमा सुरेश श्रेष्ठ, सचिवमा कल्याण पन्त र कोषाध्यक्षमा नमस्कार शाह निर्वाचित भएका छन्। त्यसैगरी सदस्यहरूमा बाग्लुङका युक्तप्रसाद सुवेदी, कास्कीका कृष्णबहादुर रायमाझी, झापाका योगेश खपाङ्गी, भक्तपुरका प्रेमध्वज लामा, भक्तपुरका सुरेशप्रसाद सैजु र कास्कीका सागर कार्की चयन भएका छन्।

नयाँ कार्यसमिति

उद्घाटन सत्रमा वरिष्ठ पत्रकार उदयबहादुर अमात्यलाई २५ हजार रुपैयाँ राशिको ‘सामाजिक पत्रकारिता पुरस्कार’ प्रदान गरिएको थियो। पुरस्कार ग्रहण गर्दै अमात्यले पत्रकारिता स्वतन्त्र र निष्पक्ष हुनुपर्नेमा जोड दिँदै पत्रकार स्वयं उदाहरण बन्नुपर्ने धारणा व्यक्त गरे। उनले पत्रकारितामा स्वतन्त्रता कायम रहँदा मात्रै निष्पक्षता सम्भव हुने बताए।

कार्यक्रममा संघका अध्यक्षले संस्थाको स्थापना पृष्ठभूमि स्पष्ट पार्दै २०६८ सालमा पत्रकार महासंघभित्र देखिएको दलीय भागबण्डाको विरोधबाट सङ्घको सुरुआत भएको जानकारी दिए। कास्कीबाट सुरु भएको सङ्घ हाल देशका विभिन्न जिल्लामा विस्तार भइसकेको उनले बताए। उनले सङ्घलाई दलीय प्रभावबाट मुक्त, निष्पक्ष र व्यावसायिक पत्रकारहरूको साझा मञ्चका रूपमा विकास गरिएको उल्लेख गरे।

उनका अनुसार पत्रकारले मतदानबाहेक अन्य समयमा राजनीतिक आस्था प्रदर्शन गर्नु उपयुक्त हुँदैन। पछिल्लो समय पत्रकारिताको सम्मान घट्नुमा स्वतन्त्रताको अभाव मुख्य कारण रहेको उल्लेख गर्दै उनले पत्रकार र पत्रकारिता दुवै स्वतन्त्र हुनुपर्नेमा जोड दिए।

निर्वाचनपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष बास्तोलाले सङ्घलाई विधानअनुसार सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले स्वतन्त्र पत्रकारिताको मुख्य उपलब्धि ‘आत्मसन्तुष्टि’ भएको उल्लेख गर्दै कुनै आग्रह–पूर्वाग्रहबिना गरिएको पत्रकारिताले कसैलाई हानी नपुर्‍याउने विश्वास नै पत्रकारको शक्ति भएको बताए।

बास्तोलाले स्वतन्त्र पत्रकारिताबाट पेशागत जीवन धान्न नसकिने भन्ने धारणा गलत भएको बताउँदै आफूले तीन दशकदेखि यही अभ्यास गर्दै आएको अनुभव सुनाए। उनले बदलिँदो समयसँगै प्रविधिमैत्री पत्रकारिता अपरिहार्य बनेको उल्लेख गर्दै डिजिटल सीपमा दक्षता बढाउँदै पत्रकारितालाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img