बागमती प्रदेशमकवानपुरअनुगमनपछि लोकप्रिय भोजनालय बन्द, कञ्चन मेडिकलको उपचार कक्ष सिल
spot_img

अनुगमनपछि लोकप्रिय भोजनालय बन्द, कञ्चन मेडिकलको उपचार कक्ष सिल

हेटौँडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरको नेतृत्वमा गरिएको बजार अनुगमनपछि हेटौँडाको लोकप्रिय भोजनालय तत्कालका लागि बन्द गरिएको छ भने बागमती गाउँपालिका–६ फापरबारीस्थित कञ्चन मेडिकलको उपचारसम्बन्धी भाग सिल गरिएको छ । सरसफाइ तथा खाद्य सुरक्षासम्बन्धी मापदण्ड पूरा नगरेको पाइएपछि लोकप्रिय भोजनालयलाई दुई लाख रुपैयाँ जरिवाना गरिएको छ । यस्तै, मेडिकलको नाममा अस्पतालजस्तै सेवा सञ्चालन गरेको पाइएपछि कञ्चन मेडिकललाई पनि दुई लाख रुपैयाँ जरिवाना गरिएको प्रशासनले जनाएको छ ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार लोकप्रिय भोजनालयमा सरसफाइको अवस्था कमजोर देखिएपछि कारबाही गरिएको हो । अनुगमन टोलीले भोजनालयलाई सरसफाइ तथा आवश्यक सुधार पूरा गरेपछि मात्र सञ्चालन गर्न निर्देशन दिएको छ । उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएका विषयमा लापरबाही देखिएकाले जरिवाना गरिएको अधिकारीले बताए ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत सन्तोष सुवेदीको नेतृत्वमा गएको टोलीले लोकप्रिय भोजनालयको अनुगमन गरेको थियो । सुवेदीका अनुसार भोजनालयमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले तोकेको सरसफाइसम्बन्धी मापदण्ड पूरा भएको देखिएन । अनुगमनका क्रममा फ्रिजमा विभिन्न प्रकारका खानेकुरा मिसाएर राखिएको, डस्टबिन र खानेकुरा राख्ने स्थान नजिकै रहेको तथा पहिल्यै पस्किएको दाल–तरकारी ग्राहकको अर्डर आएपछि मात्र भात थपेर दिने गरेको पाइएको उनले बताए ।

टोलीले सरसफाइ र खाद्य मापदण्ड पूरा गरी सम्बन्धित निकायबाट जाँच गराएपछि मात्र भोजनालय सञ्चालन गर्न निर्देशन दिएको छ । सुवेदीका अनुसार टोली फर्किने बेलासम्म भोजनालय बन्द गरिएको थियो ।

यस्तै, फापरबारीस्थित लक्ष्मण शाहको नाममा रहेको कञ्चन मेडिकललाई पनि दुई लाख रुपैयाँ जरिवाना गरिएको छ । सुवेदीका अनुसार कञ्चन मेडिकलले मेडिकलको नाममा स्लाइन दिने, उपचार गर्ने, औषधि लेख्ने र औषधि दिने काम गर्दै आएको पाइएको थियो । अनुगमन टोलीले मेडिकलभित्र राखिएका बेड तथा उपचारसम्बन्धी सामग्री रहेको भाग सिल गरेको छ । मेडिकल नै बन्द गरिएको भने होइन, अस्पतालजस्तो गरी सञ्चालन गरिएको सेवा बन्द गराइएको प्रशासनले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी अधिकारीले व्यवसायीलाई कानुनी मापदण्ड, सरसफाइ र उपभोक्ताको स्वास्थ्य सुरक्षामा गम्भीर हुन आग्रह गरेका छन् । प्रशासनले बजार अनुगमनलाई निरन्तरता दिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img