मनोरञ्जन‘गौँथली’ प्रचारमा अरुण र सिम्रन हेटौँडामा
spot_img

‘गौँथली’ प्रचारमा अरुण र सिम्रन हेटौँडामा

हेटौँडा । साउन १ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘गौँथली’को प्रचारप्रसारका लागि कलाकारसहित निर्माण टोली हेटौँडामा आएको छ । फिल्मका मुख्य कलाकार अरुण क्षेत्री, सिम्रन खड्का र निर्माता सुमन गिरीसहितको टोलीले हेटौँडामा सञ्चारकर्मीसँग भेटघाट गर्दै फिल्मबारे जानकारी गराएको हो ।

हेटौँडामा आयोजित पत्रकार भेटघाटमा निर्माण टोलीले ‘गौँथली’ ग्रामीण समाज, परिवार, विवाह, शिक्षा र संघर्षसँग जोडिएको कथा बोकेको फिल्म भएको जनाएको छ । निर्माण पक्षका अनुसार फिल्ममा पहाडी गाउँको सामान्य परिवार, विवाहपछि पनि पढाइप्रतिको सपना नछाड्ने युवती र पारिवारिक सम्बन्धको भावनात्मक पक्षलाई प्रस्तुत गरिएको छ । ‘गौँथली’ शब्दले घर, परिवार र आपसी सामीप्यताको प्रतीकात्मक अर्थ बोकेको निर्माण पक्षको भनाइ छ ।

डा. कपिल रिजालको निर्देशनमा बनेको फिल्मको कथा डा. भोला रिजालले लेखेका हुन् । भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको फिल्ममा सुमन गिरी र डा. कपिल रिजाल निर्माता रहेका छन् । फिल्ममा अरुण क्षेत्री र सिम्रन खड्कासहित मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रविन्द्र झा, ईश्वरी बराल, संयोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीको अभिनय रहेको छ । बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपालीले अभिनय गरेका छन् ।

पत्रकार भेटघाटमा अभिनेत्री सिम्रन खड्काले फिल्ममा आफूले ग्रामीण परिवेशकी युवतीको भूमिका निर्वाह गरेको बताइन् । उनले युवतीको सपना, बाध्यता र पढाइप्रतिको चाहनालाई फिल्ममा देखाउने प्रयास गरिएको उल्लेख गरिन् । कलाकार अरुण क्षेत्रीले ‘गौँथली’ नेपाली समाजसँग नजिकको कथा भएको बताए । निर्माता सुमन गिरीले फिल्मले मनोरञ्जनसँगै सामाजिक सन्देश दिने दाबी गर्दै दर्शकबाट सकारात्मक साथको अपेक्षा गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img