समाजहेटौंडा उपमहानगरको चार वर्षे उपलब्धि: १०.५१ किमि सडक कालोपत्र, २६९ किमि ढलान
spot_img

हेटौंडा उपमहानगरको चार वर्षे उपलब्धि: १०.५१ किमि सडक कालोपत्र, २६९ किमि ढलान

हेटौँडा । हेटौंडा उपमहानगरपालिकाले चार वर्षको अवधिमा १०.५१ किलोमिटर सडक कालोपत्र गरेको जनाएको छ । उपमहानगरपालिकाका अनुसार चालु आर्थिक वर्ष २०८२/०८३ को हालसम्मको अवधिसम्म उपमहानगरको बजेट तथा कार्यक्रममार्फत सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र सामाजिक विकासका विभिन्न आयोजना सम्पन्न भएका छन् ।

उपमहानगरपालिकाका अनुसार सोही अवधिमा २६९.७० किलोमिटर सडक ढलान, २२.६८ किलोमिटर सडक ग्राभेल तथा ३३ वटा साना तथा ठूला कल्भर्ट निर्माण गरिएको छ । पूर्वाधार विकासतर्फ ४८ वटा खानेपानी आयोजना, ५७ पर्यटन पूर्वाधार, १०७ खेलकुद पूर्वाधार, ७९ गुम्बा, २५३ मन्दिर, ६१ तटबन्धन, ३२ साना सिँचाइ आयोजना, ४९ शौचालय, ३० स्वास्थ्य पूर्वाधार, ६३ सामुदायिक भवन, ४५ ढल तथा नाला र १२ वटा पार्क निर्माण गरिएको उपमहानगरपालिकाले जनाएको छ ।

आवास नीतिअन्तर्गत लुमन्तीसँगको सहकार्यमा चालु आर्थिक वर्षमा १०० वटा घर निर्माणको काम अघि बढाइएको छ । सेवा प्रवाहलाई व्यवस्थित बनाउन १७ वटा वडा कार्यालय भवनको निर्माण तथा मर्मत सम्पन्न गरिएको छ भने हेटौंडा–१६ को वडा कार्यालय भवन आगामी वर्ष सम्पन्न गरी सञ्चालनमा ल्याइने भएको छ । हेटौंडा–२ को वडा कार्यालय निर्माणका लागि जग्गा प्राप्तिको प्रक्रिया अघि बढाइएको उपमहानगरपालिकाले जनाएको छ ।

आर्थिक सशक्तीकरणतर्फ १४ वटा साना उद्योग सञ्चालनमा सहयोग गरी ४५० जनालाई प्रत्यक्ष र ७०० जनालाई अप्रत्यक्ष रोजगारी प्रदान गरिएको छ । गुन्द्रुक उत्पादनको बजारीकरण, ढाका प्रवद्र्धन तथा स्वरोजगार तालिममार्फत ८०० भन्दा बढी नागरिक लाभान्वित भएको उपमहानगरपालिकाको भनाइ छ । त्यस्तै, मेवा तथा ड्रागन फ्रुटको व्यावसायिक खेतीमार्फत हेटौंडा–१२, १३, १४, १७ र १८ मा २०० भन्दा बढी नागरिकले स्वरोजगार प्राप्त गरेका छन् ।

युवा लक्षित पशुपालन कार्यक्रमबाट ५५ संस्था र १५२ जना लाभान्वित भएका छन् । बागमती प्रदेश सरकारको अनुदानमा १ करोड ९२ लाख लिटर दूध उत्पादनमा अनुदान वितरण गरिएको उपमहानगरपालिकाले जनाएको छ ।

शिक्षातर्फ सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुदृढीकरण, संस्थागत विद्यालयको वर्गीकरण, शिक्षक बैंक तथा स्थानीय पाठ्यक्रम निर्माणलगायत १४७ आयोजना सम्पन्न भएका छन् । स्वास्थ्यतर्फ पदमपोखरी र हटियामा पाँच–पाँच शय्याका नगरस्तरीय अस्पताल सञ्चालनमा ल्याइएको छ भने २२ वटा आधारभूत स्वास्थ्य केन्द्रको स्तरोन्नति गरिएको छ ।

उपमहानगरपालिकाले वातावरण संरक्षण, सरसफाइ, हरियाली प्रवद्र्धन, खुला जिम निर्माण तथा प्लास्टिक झोला निरुत्साहित गर्ने अभियानसमेत सञ्चालन गरेको जनाएको छ । जोखिमपूर्ण कार्यमा खटिएका जनशक्तिलाई तीन वर्षदेखि स्वास्थ्य बिमामा आबद्ध गरिएको छ भने निःशुल्क शववाहनमार्फत ४८० शवको व्यवस्थापन गरिएको छ ।

सामाजिक विकासतर्फ स्थानीय शासनयुक्त वडा तथा नगर घोषणा, हिंसापीडित महिला तथा बालबालिकाका लागि अल्पकालीन आश्रयस्थल सञ्चालन, महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा यौनिक अल्पसंख्यकका लागि सचेतना तथा क्षमता विकास कार्यक्रम सञ्चालन गरिएको उपमहानगरपालिकाले उल्लेख गरेको छ ।

ज्येष्ठ नागरिक मिलन केन्द्र सञ्चालनमा ल्याइएको छ भने बहिरा नागरिकका लागि हेटौंडा–२, ७, ९, १०, १४ र १८ मा निरन्तर दोभाषे सेवा प्रदान गरिएको छ । सार्वजनिक–निजी साझेदारी अवधारणाअनुसार तीन वटा पार्क र पुस्तकालय निजी क्षेत्रमार्फत सञ्चालन भइरहेको उपमहानगरपालिकाले जनाएको छ ।

टोल विकास संस्था अभियान सबै वडामा विस्तार गरिएको छ । ‘सडक मानवमुक्त सहर’ अभियानअन्तर्गत सहयोगापेक्षी सडक मानवको उद्धार, उपचार, शिक्षा र पुनःस्थापनाको काम भइरहेको उपमहानगरपालिकाले जनाएको छ ।

यसैगरी, एचआईभी संक्रमित तथा प्रभावित २७ जना बालबालिकालाई विगत चार वर्षदेखि मासिक दुई हजार रुपैयाँ शैक्षिक तथा पोषण सहयोग उपलब्ध गराइँदै आएको छ । संक्रमितको उपचार र आयआर्जनका लागि पनि नियमित सहयोग प्रदान भइरहेको उपमहानगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img