हेटौँडा। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी असार १६ र १७ गते देशका विभिन्न क्षेत्रमा मनसुनी गतिविधि तीव्र भई भारीदेखि धेरै भारी वर्षा हुन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानका आधारमा प्राधिकरणले मधेस प्रदेश तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।
प्राधिकरणद्वारा आइतबार जारी सूचनामा देशका अधिकांश पहाडी तथा तराई क्षेत्र र केही हिमाली क्षेत्रमा मध्यम वर्षा हुने अनुमान गरिएको छ । लगातारको वर्षासँगै आकस्मिक बाढी, पहिरो, नदी कटान, गेग्रान बहाव, शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम बढ्न सक्ने प्राधिकरणले जनाएको छ । जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन र आवश्यक परे सुरक्षित स्थानमा जान आग्रह गरिएको छ ।
खोला, नदी तथा खहरे आसपास यात्रा गर्ने, पहिरोको जोखिम भएका बस्तीमा बसोबास गर्ने तथा नदी किनारका बासिन्दालाई सुरक्षित स्थानको पूर्वपहिचान गरी सतर्क रहन अनुरोध गरिएको छ । प्राधिकरणले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, स्थानीय तह, स्वयंसेवक तथा सम्बन्धित निकायलाई उद्धार तथा प्रतिकार्यका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।
जोखिमयुक्त राजमार्ग तथा सडकमा डोजर, एक्साभेटर, लोडरलगायत उपकरण तयारी अवस्थामा राख्न पनि प्राधिकरणले भनेको छ । विपद्सम्बन्धी आपत्कालीन सहायता आवश्यक परे वर्षा तथा बाढीसम्बन्धी जानकारीका लागि ११५५, विपद् सहायता नम्बर ११४९, नेपाल प्रहरीको १०० र सशस्त्र प्रहरी बल नेपालको १११४ नम्बरमा सम्पर्क गर्न आग्रह गरिएको छ ।
प्राधिकरणकी प्रवक्ता शान्ति महतले जारी गरेको सूचनामा जल तथा मौसम विज्ञान विभाग र प्राधिकरणबाट जारी हुने अद्यावधिक मौसम पूर्वानुमान, पूर्वसूचना तथा चेतावनी नियमित रूपमा पालना गर्न सर्वसाधारणलाई अनुरोध गरिएको छ ।



