देशबागमती प्रदेशभोटेकोशी बाढीप्रभावित ४ हजार बढी परिवारलाई नगद सहायता

भोटेकोशी बाढीप्रभावित ४ हजार बढी परिवारलाई नगद सहायता

३ वर्षभित्र स्थायी आवास बनाउने लक्ष्य

मकवानपुर । भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले तत्काल नगद सहायता वितरण गरेको छ। विश्व खाद्य कार्यक्रम (डब्ल्युएफपी) को सहयोगमा प्राप्त उक्त रकम दोहोरो नपर्ने गरी एकद्वार प्रणालीमार्फत वितरण गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

​स्थानीय पालिकासँगको समन्वयमा प्रभावितको पहिचान गरी रसुवाका ५, नुवाकोटका ४ र धादिङका २ गरी ११ पालिकाका बाढीपीडितलाई उक्त सहायता रकम दिइएको हो। तथ्याङ्क प्रमाणीकरण हुन बाँकी रहेका थप करिब १ हजार ४०० परिवारलाई पनि आगामी तीन दिनभित्रै रकम हस्तान्तरण गर्ने तयारी छ।

​यसैबीच राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढीप्रभावितका लागि ३ वर्षभित्र स्थायी आवास निर्माण गरी हस्तान्तरण गर्ने लक्ष्य राखेको छ। नेपाल वातावरण पत्रकार समूहद्वारा आयोजित कार्यक्रममा प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीले प्रभावित ५ हजार ११६ परिवारलाई स्थायी बसोबास अघि ६ महिनाभित्रै अस्थायी आवासमा स्थानान्तरण गरिने जानकारी दिए।

​सरकारले बाढीपीडितलाई पाँच महिनासम्म मासिक १५ हजार रुपैयाँका दरले राहत दिने निर्णय गरिसकेको छ। चार जनाभन्दा बढी सदस्य भएका परिवारलाई प्रतिथप सदस्य मासिक २ हजार रुपैयाँका दरले थप रकम उपलब्ध गराइने प्राधिकरणले जनाएको छ।

​दीर्घकालीन पुनःस्थापनाको योजना बनाइए पनि स्थलगत अवस्था भने अझै चुनौतीपूर्ण छ। बाढीका कारण रसुवाको टिमुरेस्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय पूर्ण रूपमा नष्ट भएको र १० जना विद्यार्थी बेपत्ता भएकाले पठनपाठन कहिले सुरु हुने भन्ने अन्योल कायमै छ। त्यस्तै, बाढी आएको ५० दिन बितिसक्दा पनि कतिपय पीडितले राहत पाउन नसकेको भन्दै स्थानीयले गुनासो गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार