काठमाडाैँ । दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट घटस्थापनायता झन्डै साढे ५ लाख यात्रु बाहिरिएका छन्। गत असोज २५ गते घटस्थापनादेखि सोमबार बिहानसम्ममा सार्वजनिक सवारीसाधनमार्फत ५ लाख २८ हजार यात्रु उपत्यकाबाट बाहिरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
गत वर्ष सोही अवधिमा साढे ५ लाख मानिसले उपत्यका छाडेका थिए। गत वर्षको तुलनामा यसपालि बाहिरिने यात्रुको सङ्ख्या झन्डै २० हजारले घटेको छ। पछिल्ला विपद्जन्य घटना, भोटेकोशी बाढी, सडकको नाजुक अवस्था, बढ्दो महँगी तथा वैदेशिक रोजगारीका कारण दसैँमा उपत्यका छाड्नेको सङ्ख्यामा कमी आएको ट्राफिक प्रहरीको अनुमान छ।
यस वर्षको दसैँमा कुल १० लाख यात्रुले काठमाडौँ उपत्यका छाड्ने प्रारम्भिक अनुमान गरिएको छ। आज र भोलिसम्म पनि गाउँ फर्किने क्रम जारी रहनेछ। घटस्थापनादेखि उपत्यकाका मुख्य नाकाहरूमा बढेको सवारी चाप भने अहिले घटेको छ। सोमबारदेखि सडकमा सामान्य अवस्थाको तुलनामा कम मात्र सवारीसाधन चलेका छन्।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी नरेशराज सुवेदीका अनुसार घटस्थापनायता सार्वजनिक गाडीमार्फत उपत्यका भित्रिने यात्रुको सङ्ख्या पनि झन्डै साढे २ लाख पुगेको छ। हाल देशभरका कुनै पनि प्रमुख राजमार्ग तथा सडक खण्डमा अवरोध नरहेको र यातायात सुचारु रहेको प्रहरीले जनाएको छ।


