बागमती प्रदेशमकवानपुरभारी वर्षाको जोखिम बढेपछि मकवानपुर प्रशासनले जारी गर्‍यो सतर्कता सूचना

भारी वर्षाको जोखिम बढेपछि मकवानपुर प्रशासनले जारी गर्‍यो सतर्कता सूचना

हेटौँडा । बङ्गालको खाडीमा विकसित ‘अर्णव’ चक्रवातको प्रभावले भारी वर्षा हुन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्लावासीलाई सतर्क रहन आग्रह गरेको छ।

जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विशेष बुलेटिनअनुसार कात्तिक ११ देखि १४ गतेसम्म मकवानपुरसहित बागमती प्रदेशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना देखिएको हो।

सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलले मंगलबार जारी गरेको सूचनामा भारी वर्षाका कारण नदी तथा खोलामा आकस्मिक बाढी आउन सक्ने, डुबान र कटानको जोखिम बढ्ने तथा पहाडी क्षेत्रमा पहिरो खस्न सक्ने उल्लेख छ।

प्रशासनले विशेषगरी नदी किनार, पहिरोको जोखिम रहेका बस्ती तथा सडक आसपासका नागरिकलाई सावधानी अपनाउन भनेको छ। त्रिभुवन राजपथ, कान्ति लोकपथ, हेटौँडा–काठमाडौँ छोटा मार्ग र ग्रामीण सडकमा पहिरोको सम्भावना रहेकाले अत्यावश्यकबाहेक लामो दूरी तथा रात्रिकालीन यात्रा नगर्न सुझाव दिइएको छ।

धानबाली भित्र्याउने समय भएकाले किसानलाई पाकेको धान तथा अन्य कृषि उपज सुरक्षित स्थानमा राख्न र वर्षाको अवधिमा बाली नकाट्न आग्रह गरिएको छ। त्यस्तै, नदी तथा खोला तर्ने, माछा मार्ने र दाउरा सङ्कलन गर्नेजस्ता जोखिमपूर्ण गतिविधि नगर्न अनुरोध गरिएको छ।

बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती, अपाङ्गता भएका व्यक्ति र बिरामीको सुरक्षामा विशेष ध्यान दिन तथा महत्त्वपूर्ण कागजात र चौपायालाई सुरक्षित राख्नसमेत प्रशासनले आग्रह गरेको छ।

सम्भावित विपद्को जोखिमलाई ध्यानमा राख्दै स्थानीय तह र सुरक्षा निकायलाई उद्धार तथा राहतका लागि तयारी अवस्थामा रहन भनिएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार