हेटौँडा | किशोरावस्थामा, मीनाकुमारी लामाले कहिल्यै कल्पना गरेकी थिइनन् कि एक दिन उनी एउटा ठूलो उप-महानगरको नेतृत्व गर्नेछिन्। जुन अब छिटैनै महानगर घोषणा हुँदैछ । तर उनको नेतृत्वको यात्रा भने तासका पत्ताहरुसँग सुरु भयो।
२०३३ सालमा हेटौँडा-११, नवलपुरमा जन्मिएकी मीना एक त्यस्तो समाजमा हुर्किइन् जहाँ जुवातास खेल्ने चलन व्यापक थियो। उनका केही पुरुष सहपाठीहरू र गाउँका ठूलाबडाहरू तास खेल्न भेला हुन्थे, कहिलेकाहीँ विद्यालयका पाठ वा दैनन्दिन जिम्मेवारी नै बिर्सेर। तासको खेलमा आकर्षित भएकी उनले एक दिन विद्यालय पुग्न ढिलो गरिन्, जसका कारण शिक्षकको कडा गाली र लठ्ठीको प्रहार सहनुपर्यो। त्यस दिन उनलाई केवल शारीरिक पीडा मात्र भएन, बरु क्रोध, विद्रोह, र समाज परिवर्तनको अठोट पैदा भयो।
त्यसपछि उनले गाउँमा नै तास च्यात्ने अभियान सुरु गरिन्। जुवाडा पतिबाट आजित भएका महिलाहरू उनको अभियानमा साथ दिन आए। तास खेल्न थाल्यो कि गाउँका आमाहरू ‘मीना खोइ?’ भन्दै उनलाई खोज्न थाल्थे। यसरी तास च्यात्ने अभियानले उनलाई एक निडर सामाजिक अभियन्ता बनायो।
वर्षौंपछि, उही निडर किशोरी अहिले बागमती प्रदेशको राजधानी हेटौँडा उपमहानगरपालिकाको मेयर बनेकी छिन्। नेतृत्व, साहस, र सामाजिक जागरणकै कारण आज उनी मकवानपुरका १० स्थानीय तहहरूमध्ये एकमात्र महिला प्रमुखको रूपमा स्थापित भएकी छिन्।
पुरुषप्रधान राजनीतिमा एक्ली महिला
नेपालमा महिला सहभागिता बढाउने नीति भए पनि महिलाहरू अझै पनि उच्च नेतृत्व तहमा पुग्न संघर्ष गरिरहेका छन्। मकवानपुरमा उपप्रमुख पदमा सीमित महिला नेताहरू छन्, जस्तै मनहरी गाउँपालिकामा सीता पुलामी मगर, मकवानपुरगढी गाउँपालिकामा मानकुमारी पाख्रिन, र इन्द्रसरोवर गाउँपालिकामा उमा भ्लोन। बाँकी सबै प्रमुख पद पुरुषहरूले ओगटेका छन्।
मीना लामाले यो चुनौतीपूर्ण राजनीतिमा आफ्नो ठाउँ बनाउन लामो संघर्ष गरिन्। विद्यार्थी जीवनकालबाटै राजनीतिमा लागेकी मिना कक्षाकोठाको अध्यक्ष हुँदै विंस २०५२ सालमा अनेरास्ववियू (अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन)को जिल्ला कोषाध्यक्ष भएर काम गरिन् । त्यसपछि अखिल नेपाल महिला संघ (अनेमसंघ)को जिल्ला सचिव हुँदै एमाले जिल्ला कमिटीको उपसचिवसम्म पुगिन्।
तर जब चुनावी टिकटको कुरा आउँछ, नेपाली राजनीतिमा महिलालाई अझै सहजै विश्वास गरिँदैन। ‘मैले लामो समय राजनीति गरिसकेकी थिएँ, त्यसैले २०७४ को स्थानीय चुनावमा मलाई उपमेयरको टिकट दिइयो,’ उनले भनिन्, ‘मैले जितेँ र नगरवासीका हक अधिकारका लागि संघर्ष गरें।’
परिवारको साथ र भविष्यको सपना
राजनीति, अध्ययन, र परिवारसँगै सन्तुलन मिलाउनु उनको लागि चुनौतीपूर्ण थियो। उनले समाजशास्त्रमा स्नातकोत्तर (एमए) र कानुनमा स्नातक (एलएलबी) गर्दै एक छोरा र छोरी हुर्काइन्।
‘विवाहपछि राजनीति गर्न नपाइने हो कि भन्ने डर थियो,’ उनले स्मरण गरिन्, ‘तर मेरो श्रीमान्ले मलाई पूर्ण साथ दिनुभयो।’ २०५४ मा उनले सुनकुमार तामाङसँग विवाह गरिन्। व्यवसायी श्रीमानको सहयोगले उनलाई अझ अगाडि बढ्न मद्दत गर्यो।
इतिहास रच्दै मेयरको कुर्सीसम्म
२०७९ को स्थानीय चुनावले उनको राजनीतिक यात्रामा कोसेढुङ्गा सावित गर्यो। नेपाल कम्युनिस्ट पार्टी विभाजनपछि उनी माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीतर्फ गइन्। पाँचदलीय सत्ता गठबन्धनको साझा उम्मेदवार बनेर उनले चुनाव लडिन्।
उनको प्रतिस्पर्धा एमालेका अनन्त पौडेलसँग थियो, जसको पार्टीले हेटौँडाको मेयर पदमा लामो समयसम्म वर्चस्व जमाएको थियो। तर उनले २३ हजार ८० मत प्राप्त गरी २० हजार ९ सय ८ मत ल्याएका पौडेललाई हराइन्।
‘मेयर साब’
उपमेयर हुँदा उनले जनताको घरघरमा पुगेर समस्या सुन्ने काम गरिन्, तर अहिले मेयर बनेपछि जनता उनको कार्यकक्षमा आइरहेका छन्। कोही उनलाई ‘मेयर साब’, कोही ‘दिदी’, ‘बहिनी’, त कोही ‘छोरी’ वा ‘भाउजु’ भनेर सम्बोधन गर्छन्।
उनको निर्णय लिनको शैली छिटोछरितो छ। ‘महिलाहरूले नेतृत्व गर्दा पारदर्शिता र इमान्दारी कायम रहन्छ,’ उनले भनिन्, ‘काम विधिसम्मत् भए तुरुन्तै निर्णय गर्छु। फजुल झमेला सिर्जना गर्दिन।’
उनको मुख्य लक्ष्य हेटौँडालाई महिलामैत्री सहर बनाउनु हो। स्थानीय महिला उद्यमशीलतालाई प्रवर्द्धन गर्दै उनी नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने योजनामा छन्।
‘हेटौँडाका महिलाले उत्पादन गर्ने गुन्द्रुक अहिले विदेशमा निर्यात भइरहेको छ,’ उनले भनिन्, ‘ढाका कपडा, गार्मेन्ट उद्योगदेखि कृषि उत्पादनसम्म महिलाले नै चलाइरहनुभएको छ।’
मेयर बनेको लगभग तीन वर्ष पुग्न लागेको छ। उनले नगरको दीर्घकालीन विकास योजना बनाउँदै शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ, र भौतिक पूर्वाधार क्षेत्रमा सुधार ल्याएकी छिन्।
‘हेटौँडाको विकास देखिन थालिसकेको छ,’ उनी भन्छिन्, ‘बाँकी दुई वर्षमा अझ उल्लेखनीय परिवर्तन ल्याउनेछु।’
‘स्वच्छ, उत्पादनशील, समृद्ध हेटौँडा’ निर्माण गर्ने लक्ष्यसहित अघि बढेकी मीनाकुमारी लामा केवल एक नगरप्रमुख मात्र होइनन्, महिलाको नेतृत्व क्षमताको उदाहरण पनि हुन्। किशोरावस्थामा तास च्यात्ने अभियान चलाउने निडर युवतीदेखि महानगरको नेतृत्व गर्ने सक्षम नेतृसम्म उनको यात्रा साँच्चै प्रेरणादायी छ।