हेटौँडा | आज अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदै गर्दा, हेटौँडाबाट एक घटना सार्वजनिक भएको छ। हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ स्थित वनस्खण्डी मन्दिर नजिकैको जंगलमा एक युवतीमाथि सामूहिक बलात्कार भएको घटना सार्वजनिक भएको छ। यस घटनाले महिलाको सुरक्षा र न्याय प्रणालीप्रति गम्भीर प्रश्न उठाइदिएको छ।
मकवानपुर प्रहरीले १८ वर्षभन्दा कम उमेरका ७ जना किशोरलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी श्यामु अर्यालका अनुसार २१ फागुनमा पीडित युवतीले जाहेरी दिएपछि अनुसन्धान सुरु गरिएको थियो। त्यसैक्रममा फागुन २२ गते ५ जना र फागुन २३ गते थप २ जनालाई पक्राउ गरिएको हो।
घटनाका आरोपीहरुले बलात्कारपछि मोबाइलबाट भिडियो खिचेको र उक्त भिडियो सामाजिक सञ्जालमा समेत भेटिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। मकवानपुर जिल्ला अदालतबाट जबरजस्ती करणी कसुरमा ५ दिनको म्याद अनुमति लिई अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
महिला दिवसकै दिन कहिलेसम्म हिंसाको सिकार?
आज संसारभर महिला सशक्तीकरण, समानता र अधिकारका कुरा भइरहेको छ। हेटौँडामा पनि विभिन्न कार्यक्रममार्फत महिलाका हक र सुरक्षाको वकालत गरिँदैछ। तर वास्तविकता भने फरक छ— नेपाली समाजमा महिलाहरू अझै पनि असुरक्षित छन्। हेटौँडामा भएको पछिल्लो घटनाले देखाएको छ कि कानूनी प्रबन्ध भए पनि महिलामाथि हुने हिंसा रोक्न अझै धेरै गर्न बाँकी छ।
महिला अधिकारकर्मीहरू यो घटनाप्रति आक्रोशित छन्। गैसस महासंघ मकवानपुरकी शाखा अध्यक्ष रमिला सापकोटा भन्छिन्, ‘अन्तर्राष्ट्रिय नारी दिवसमा महिला हिंसाविरुद्ध कार्यक्रम भइरहेका बेला यस्ता घटनाले हाम्रो वास्तविकतालाई झल्काउँछ। कानूनी सुरक्षाको ग्यारेन्टी भए पनि व्यावहारिक रूपमा अवस्था उस्तै छ। यस्तो घटनामा संलग्नलाई कडा कारबाही गर्नु आवश्यक छ।’
उनका अनुसार, महिलाहरू अझै पनि प्रत्येक पाइला असुरक्षित महसुस गरिरहेका छन्, जुन गम्भीर विषय हो। उनले ‘महिलाको सुरक्षाको ग्यारेन्टी सरकारले दिनुपर्छ, तर आत्मरक्षा गर्न सिक्नु पनि उत्तिकै आवश्यक छ’ भन्दै परिवारले पनि छोरीहरूको सुरक्षामा ध्यान दिनुपर्ने बताइन्। ‘कतिपयले महिलालाई धेरै स्वतन्त्रता दिइएको छ कि भन्ने धारणा बनाएका छन्, तर वास्तविकता त्यस्तो होइन। महिलाहरू अझै पनि असुरक्षित छन्,’ उनले थपिन्।
उनले महिलाहरूलाई आफ्नो सुरक्षा प्रति सचेत रहन आग्रह गर्दै भनिन्, ‘असुरक्षित स्थानहरूमा नजानु नै राम्रो हो। अभिभावकले आफ्ना छोरीहरूको सुरक्षामा चासो राख्नुपर्छ। विद्यालयहरू पनि विद्यार्थीहरूको सुरक्षा प्रति जिम्मेवार हुनुपर्छ।’
उनले स्थानीय सरकार र प्रशासनले थप जिम्मेवारीका साथ काम गर्नुपर्ने बताइन्। ‘बुद्ध चोकमा मात्रै प्रहरी राखेर हुँदैन, यस्ता घटनाहरू रोक्न सचेतना अभियान चलाउनु आवश्यक छ। महिला हिंसाविरुद्ध प्रभावकारी कदम चाल्न प्रशासनले तत्परता देखाउनुपर्छ,’ उनले जोड दिइन्।
नेपालमा बलात्कारसम्बन्धी कानूनी व्यवस्था कडा भए तापनि घटनाहरू लगातार बढिरहेको देखिन्छन । कानूनी सजायको डर नहुनु र अपराधीहरूको निर्भीकता यसको मुख्य कारण हुन् भन्ने पनि गरिएको छ ।
महिला हिंसा रोक्नका लागि केवल कानूनी व्यवस्था मात्रै होइन, सामाजिक परिवर्तन पनि आवश्यक रहेको जिल्ला प्रशासन कार्यालय मकवानपुरकी प्रमुख स्किम श्रेष्ठले बताईन् । उनले भनिन्, “समाजमा परिवर्तन सँगसंगै घटनाहरु पनि घटिरहेका छन् तर यस प्रकारका घटनाले हामीलाई नै चिन्तित बनाएको छ, हामीलाई झस्काएको छ ।” उनले महिला सुरक्षा सुनिश्चित गर्न सबै पक्षबाट पहल गर्नुपर्ने आवश्यकता औंल्याइन्।
उनले भनिन्, “प्रशासन यस्ता घटनाहरू रोक्नका लागि प्रतिबद्ध छ । पीडितलाई न्याय दिलाउन प्रशासनले आफ्नो कदम अघि बढाएको छ । यी र यस्ता घटना न्यूनीकरणको लागि सचेतनाका कार्यक्रम पनि सञ्चालन गरिरहेका छौ । यस्ता घटनाहरूमा कडा कानूनी कारबाही हुन्छ ।”
आजको दिन नाराहरू मात्र होइन, व्यवहारमै परिवर्तन ल्याउने दिन बन्नुपर्छ। महिलाहरू सुरक्षित महसुस गर्ने समाज निर्माण गर्ने जिम्मेवारी सम्पूर्ण राज्य संयन्त्र, स्थानीय प्रशासन र समुदायको हो। नत्र, महिला दिवस केवल भाषणमा सीमित हुनेछ, वास्तविक महिलाहरूको पीडा भने जस्ताको त्यस्तै रहनेछ।
नोट: भ्रम हुन गएको भन्ने गुनासोपछि समाचारको शीर्षकलाई अझ स्पष्ट र सटीक बनाउन “अन्तर्राष्ट्रिय नारी दिवसमै हेटौँडामा सामूहिक बलात्कारको घटना: महिलाको सुरक्षामा अझै चुनौती” लाई सम्पादन गरी “नारी दिवसकै दिन हेटौँडामा सामूहिक बलात्कारको घटना सार्वजनिक: महिलाको सुरक्षामा अझै चुनौती” राखिएको छ। – सम्पादक