हेटौँडा । बागमती प्रदेशका प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले ११५औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन्।
“सबै महिला तथा बालिकाका लागि : अधिकार, समानता र सशक्तीकरण” भन्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नाराका साथ मार्च ८ का दिन विश्वभर यो दिवस मनाइँदै छ। दिवसको अवसरमा प्रदेश प्रमुख देवकोटाले नेपालभित्र र विदेशमा रहेका सम्पूर्ण नेपाली महिलाहरूलाई सुख, शान्ति तथा समृद्धिको शुभकामना व्यक्त गरेका छन्।
उनले नेपालको संविधानले महिलाका हक अधिकारलाई मौलिक हकका रूपमा व्यवस्था गरेको उल्लेख गर्दै संवैधानिक व्यवस्थाअनुसार महिलाका अधिकार विभिन्न सरकारी निकायहरूमा कार्यान्वयन भइरहेको बताएका छन्। संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाले महिलाहरूलाई अधिकार सम्पन्न बनाएको र उनीहरूले स्वतन्त्र रूपमा आफ्ना अधिकार उपभोग गरिरहेको उनको भनाइ छ।
प्रदेश प्रमुख देवकोटाले कानूनी प्रावधान हुँदाहुँदै पनि समाजमा विद्यमान पितृसत्तात्मक सोचका कारण महिलामाथि हिंसा र अन्याय जारी रहेको भन्दै यसको अन्त्यका लागि सबै पक्षको सक्रिय भूमिका आवश्यक रहेको बताएका छन्।
‘देशका सम्पूर्ण महिलाहरूको आर्थिक, सामाजिक, शैक्षिक, राजनीतिकलगायत समग्र विकासका लागि सबैको समान सहभागिता अपरिहार्य छ,’ उनले भनेका छन्।
महिला सशक्तीकरणलाई दीगो, प्रभावकारी र व्यावहारिक बनाउन सबै पक्षले सहकार्य गर्नुपर्नेमा जोड दिँदै उनले महिला अधिकार र समानताका लागि निरन्तर अग्रसर रहन प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरेका छन्।