हेटौँडा । आगामी दुई दिन देशका विभिन्न भूभागमा साधारणतया बदली रही अधिकांश स्थानमा वर्षा हुने मौसम पूर्वानुमान विभागले जनाएको छ।
आइतबार दिउँसोका लागि जारी विवरण अनुसार कोशी प्रदेशको हिमाली र पहाडी क्षेत्रमा केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ भने तराईमा थोरै स्थानमा वर्षा हुनेछ। राति भने कोशीका तीनै भेगमा थोरै स्थानमा वर्षा पर्ने सम्भावना विभागले जनाएको छ।
मधेश प्रदेशमा दिउँसो र राति दुवै समयमा तराई क्षेत्रमा थोरै स्थानमा वर्षा हुने अनुमान गरिएको छ।
बागमती प्रदेशमा दिउँसो हिमाल र पहाडका धेरै स्थानमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना छ भने तराईमा पनि मध्यम वर्षा हुनेछ। राति भने प्रदेशभर थोरै स्थानमा मात्र वर्षा हुने देखिएको छ।
गण्डकी प्रदेशमा दिउँसो हिमाल र पहाडमा मध्यमदेखि भारी वर्षा र तराईमा मध्यम वर्षा हुने अनुमान गरिएको छ। राति भने थोरै स्थानमा वर्षा हुने सम्भावना छ।
लुम्बिनी प्रदेशमा दिउँसो हिमाल, पहाड र तराई तीनै क्षेत्रमा धेरै स्थानमा मध्यमदेखि भारी वर्षा हुने देखिएको छ। राति भने केही स्थानमा वर्षा कायम रहने विभागले जनाएको छ।
कर्णाली प्रदेशमा दिउँसो हिमाल र पहाड दुवै क्षेत्रमा धेरै स्थानमा मध्यमदेखि भारी वर्षा हुने अनुमान गरिएको छ। राति भने थोरै स्थानमा वर्षा पर्न सक्ने विभागको पूर्वानुमान छ।
सुदूरपश्चिम प्रदेशमा पनि दिउँसो हिमाल, पहाड र तराई तीनै क्षेत्रमा धेरै स्थानमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना छ। राति भने केही स्थानमा वर्षा कायम रहनेछ।
मौसमविद्हरूका अनुसार आगामी २४ घण्टासम्म विशेष गरी बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षा हुने भएकाले नदी–नाला तथा खोला किनारका बासिन्दा सतर्क रहन आवश्यक छ। साथै, मधेश प्रदेश, कोशी प्रदेश र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा हावाहुरी समेत आउने सम्भावना भएकाले सावधानी अपनाउन आग्रह गरिएको छ।



