हेटौँडा । सरकारले सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ। इन्धनको मूल्यमा भएको उतारचढाव र अन्य आर्थिक सूचकलाई आधार मान्दै नयाँ भाडादर निर्धारण गरिएको सरकारको भनाइ छ।
नयाँ व्यवस्थाअनुसार यात्रुवाहक सवारी साधनको भाडा १६.७१ प्रतिशतले बढाइएको छ। त्यस्तै, मालवाहक सवारीतर्फ पहाडी मार्गमा सञ्चालन हुने सवारीको भाडा २१.६८ प्रतिशत र तराई क्षेत्रमा सञ्चालन हुने सवारीको भाडा १५.७५ प्रतिशतले वृद्धि गरिएको छ।
सरकारले लागत समायोजन, सञ्चालन खर्च तथा बजारको अवस्थालाई ध्यानमा राखी भाडा समायोजन गरिएको जनाएको छ। नयाँ दर कार्यान्वयनसँगै यात्रु तथा उपभोक्तामा थप आर्थिक भार पर्ने अनुमान गरिएको छ भने यातायात व्यवसायीले भने यसलाई आवश्यक निर्णयका रूपमा स्वागत गरेका छन्।
















